बझाङमा भूकम्पमा परी दुई जना घाइते, पहिरोले राजमार्ग अवरुद्ध

बझाङमा भूकम्पमा परी दुई जना घाइते, पहिरोले राजमार्ग अवरुद्ध

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको बताए । 

स्थानीयले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ । भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीकाअनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका –७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ । 

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पराकम्पन आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए । पाण्डेयले सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए । उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउदै सूचना संकलनको काम भइरहेको जानकारी दिए । 

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतकाअनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।