शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न विधेयक सदनमा दर्ता गरिने

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न विधेयक सदनमा दर्ता गरिने

धनगढी । कैलालीको गोदावरीमा रहेको गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक ऐन नेपाल सरकारले संघिय सदनमा दर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले मेडिकल कलेज सञ्चालनका लागि शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न विधेयक सदनमा दर्ता गर्ने निर्णय गरेको हो ।

सो निर्णयलाई मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ । मेडिकल कलेजका भवनहरु निर्माण भइसक्दासमेत कानुन नहुँदा सञ्चालन हुन सकेको छैन् ।

सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको हो । त्यसयताको हरेक निर्वाचनमा मेडिकल कलेजको विषय सबै दलको नारा बन्दै आयो । २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गर्यो ।

अर्को वर्ष राष्ट्रिय योजना आयोगले मेडिकल कलेज बनाउन ११ करोड रूपैयाँ छुट्यायो । गेटा मेडिकल कलेज संरचना विकास समिति पनि बन्यो । २०७१ मा शिलान्यास पनि भयो, तर वातावरणीय प्रभाव मूल्यांकन र रूख कटानको विषयमा झमेला भएर २०७४ मात्र पूर्वाधार निर्माणको काम सुरू भयो ।

गेटामा पाँच अर्ब लागतमा छ सय शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन निर्माणको काम ९० प्रतिशत सकिएको छ । मेडिकल कलेजमा आन्तरिक सडक कालोपत्र, ढल व्यवस्थापन, पानी र विद्युत जडान लगायतका काम भइरहेको जनाइएको छ ।