काठमाण्डौ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब तिङ्कर क्षेत्रका नागरिकले सहजै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको तिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट हेलिकप्टरमा तिङ्कर पुर्याएको थियो । अब सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा पर्यटकसमेत सञ्चारको सहज पहुँचमा पुगेका छन् ।
तिङ्करमा अहिलेसम्म विकासका कुनै पूर्वाधार बनेका छैनन् । तीन हजार सात सय मिटर उचाइमा रहेको तिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट ८० किलोमिटर दूरीमा छ । तिङ्करबाट आठ किलोमिटर हिँडेपछि चीनको सिमानाको १ नम्बर पिलर पुग्न सकिन्छ ।