व्यवसायिक बन्दै नौगाडका महिला

व्यवसायिक बन्दै नौगाडका महिला

दार्चुला : नौगाडका महिला तरकारी उत्पादन र होजियारी व्यवसायमा अग्रसर हुन थालेका छन् । यसअघि घरायसी काम र परिवारमा पुरुष सदस्यकै कमाइमै निर्भर रहेका यहाँका महिलाले पछिल्लो समय आत्मनिर्भर बन्न व्यवसाय रोज्न थालेका हुन् । 

उनीहरू तरकारी, च्याउ उत्पादन तथा होजियारी सिक्न थालेका छन् । व्यावसायिक उत्पादनले महिलाले राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखेर त्यसतर्फ अग्रसर भएको नौगाड २ दल्लेककी लालमती मन्यालले बताइन् । ‘यसअघि मौसमी तरकारी मात्र लगाउने चलन थियो । अहिले बेमौसमी तरकारी फलाएर आम्दानी बढाउन थालेका छौं,’ मन्यालले भनिन् ।

महिलाले आत्मनिर्भर बन्न जीवन उपयोगी सीप सिक्नु आवश्यक हुने उनले बताइन् । बेरोजगारीका कारण दार्चुलाको ग्रामीण क्षेत्रका पुरुषहरू अधिकांश विदेश जान्छन् । परिवार घर छाडेर गएपछि महिलाहरूले नै घरबार समाल्नुपर्ने बाध्यता हुन्छ । कमाइ गर्न घर छाडेर गएका पुरुषहरू कतिपयले घरखर्च पनि पठाउँदैनन् ।

सबै जिम्मेवारी काँधमा आएपछि व्यवसायतिर अग्रसर भएको नौगाड सुण्डमुण्डकी पारवति ठगुन्नाले बताइन् । ‘आत्मनिर्मर हुन सक्यो भने घर व्यवहार चलाउन श्रीमानकै भर पर्नु पर्दैन,’ उनले भनिन्, ‘सीप सिक्दा आत्मनिर्भर बन्ने बाटो खुलेको छ । गाउँमा सडकको पहुँच पुगिसकेको र नजिक बजार भएको हुनाले उत्पादित तरकारी खेर जाने अवस्था छैन ।’ प्राविधिक सहयोग र उन्नत जातको बीउको सहयोग मिले व्यावसायिक तरकारी उत्पादन गर्न थप सहज हुने उनको भनाइ छ ।

गाउँका महिलालाई उद्योग विकास शाखा दार्चुलाको सहयोगमा जागरुक समाज कञ्चनपुरले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने तालिम दिएको छ । तालिम लिएर उनीहरू गुजारामुखी परम्परालाई छाडेर व्यावसायिक उत्पादनमा लागेका हुन् । कतिपयले उत्पादित तरकारी बेचबिखन सुरु गरिसकेका छन् ।
चालु आर्थिक वर्षमा जिल्ला लघु उद्यम विकास समितिले नौगाडका १ सय ७६ जनालाई तालिम दिएको थियो । समितिले नौगाडमा लामो, मध्यम तथा छोटो समयको तरकारी उत्पादन, होजियारी र अल्लो उत्पादनको तालिम प्रदान गरेको उद्योग शाखा दार्चुलामा उद्योग अधिकृत पदम ठकुराठीले बताए । समितिले गाउँटोलमा छलफल गरेर समूहमार्फत व्यावसायिक वस्तु उत्पादन गर्ने योजना बनाएका छन् ।

समूहलाई बैंकमार्फत ऋण सहयोग गर्न सकिने जिल्ला लघु उद्यम विकास समिति दार्चुलाका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले बताए । सीपको सदुपयोग गरेर स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउन सहजीकरण गर्ने उनले बताए ।