बच्चाको छाला र कपाल स्वस्थ राख्नका लागि अपनाउनुहोस् यस्ता टिप्स

बच्चाको छाला र कपाल स्वस्थ राख्नका लागि अपनाउनुहोस् यस्ता टिप्स

एजेन्सी । बच्चा एकदमै संवेदनशील हुन्छन् । त्यसैले मौसममा अलिकति पनि परिवर्तन हुन थाल्यो भने उनीहरुलाई सबैभन्दा पहिला असर गर्छ ।

यसरी नै बच्चाको कपाल तथा छाला पनि एकदमै संवेदनशील हुन्छ । जसले गर्दा उनीहरुलाई विशेष हेरविचारको आवश्यकता पर्दछ ।

कतिपय आमाबुवाहरु बच्चालाई पनि आफ्नै सौन्दर्य सामग्रीको प्रयोग गराउँछन् जो एकदमै गलत हो । त्यसैले विशेषज्ञको सल्लाहअनुसार नै सही सामग्री छान्नुहोस् ।

बदलिँदो मौसममा बच्चाको छाला तथा कपालको विशेष ख्याल राख्नका लागि यहाँ बताइएका केही टिप्स प्रयोग पनि गर्न सक्नुहुन्छ ।

घामबाट जोगाउने

त्यसो त हामी सबैलाई सूर्यको किरणको आवश्यकता पर्दछ । तर दिउँसोको हानिकारक सूर्यको किरणबाट भने बच्चालाई जोगाउनुहोस् ।

यदि बच्चा ६ महिना भन्दा पनि सानो छ भने दिउँसोको कडा घाममा कहिल्यै नलग्नुहोस् ।

बच्चा ६ महिना भन्दा ठूलो छ भने उसलाई घामबाट जोगाउने खालको क्रिमको प्रयोग गरेर मात्र लग्न सकिन्छ ।

सरसफाईमा पूर्ण ध्यान राख्ने

बच्चालाई कुनै पनि प्रकारको संक्रमणबाट जोगाउन सरसफाईमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चालाई हप्तामा तीनपटक जरुर नुहाइदिनुहोस् ।

यदि सानो बच्चा छ भने समय समयमा डाइपर परिवर्तन गर्नुहोस् । बच्चालाई भिजेको कपडा नलगाइदिनुहोस् । दैनिक रुपमा बच्चाको कपडा  परिवर्तन गरिदिनुहोस् ।

केमिकल रहित उत्पादनको प्रयोग

कतिपय व्यक्तिले बजारमा पाइने कुनै पनि प्रकारको बच्चाको सामग्री माथि विश्वास गरेर प्रयोग गर्ने गर्छन् ।

तर यस्तो गर्दा तपाईंको बच्चाको छाला तथा कपालमा नोक्सान पुग्न सक्छ । त्यसैले जहिले पनि डाक्टरको सल्लाह अनुसार नै कुनै पनि सामग्रीको प्रयोग गर्नुहोस् । वा रासायनिक पदार्थ प्रयोग नभएको सामग्री चिनेर मात्र प्रयोग गर्नुहोस् ।

नङ छोटो राख्ने

छाला र कपालसँगै बच्चाको नङको सरसफाई पनि एकदमै जरुरी हुन्छ । बच्चाका नङ एकदमै छिटो बढ्ने गर्छन् । जसले गर्दा उनीहरुले जानीनजानी नङले आफैलाई चोट पुर्‍याउन सक्छन् । त्यसैले समय समयमा उनीहरुको नङलाई ट्रिम गर्ने वा काट्ने गर्नुपर्छ ।

मालिस गर्ने

बच्चाको छालालाई संक्रमणबाट जोगाउनका लागि दैनिक रुपमा तेलले मालिस गर्नुपर्दछ । यसले बच्चाको मांसपेशी तथा हड्डी पनि बलियो हुन्छन् । त्यसैले सही मसाज गर्ने तेल छानेर उनीहरुलाई नियमित रुपमा मालिस जरुर गर्नुहोस् ।