इजरायलमा रहेका नेपालीको उद्धारका लागि संयन्त्र गठन

इजरायलमा रहेका नेपालीको उद्धारका लागि संयन्त्र गठन

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूको उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न उक्त संयन्त्र गठन गरेको हो ।

आज बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाल निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ ।

संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ । 

दक्षिणी इजरायलमा भएको यस भयानक आक्रमणका बारेमा जानकारी आएलगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम सम्पर्क परिचालन गरेको मन्त्री साउदले जानकारी दिए ।