नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

धनगढी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्। मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ। 

मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी क्षेत्रमा आउन लागेका हुन्। मोदी बिहीबार बिहान ८ बजेर ३० मिनेटमा कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्नेछन्। त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ। 

बिहान ९ बजेर ३० मिनेटमा उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन्। गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। मोदीसँग छलफलका लागि ति गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छ। 

कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्। 

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्।

मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। भारतले उतिक्रमित गरेको उक्त भूमि फिर्ताका लागि नेताहरुले कूटनीतिक पहल थाल्ने बताउँदै आएका छन्। तर त्यसबारे भारतसँग ठोस वार्ता भने भएको छैन।