बझाङ भूकम्पः अहिलेसम्म झण्डै ५ सय पटक परकम्प

बझाङ भूकम्पः अहिलेसम्म झण्डै ५ सय पटक परकम्प

काठमाण्डौ । बझाङमा गएराति परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा। मुकुन्द भट्टराईका अनुसार सदरमुकाम चैनपुरबाट ५ दशमलव ३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर परकम्प गएको हो । उनका अनुसार बझाङमा निरन्तर परकम्प गइरहेका छन् ।

बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी झण्डै ५ सय पटक परकम्प गएका छन् । तीमध्ये ४ रेक्टर स्केलमाथिका १४ वटा र ५ रेक्टरस्केलमाथिका ५ वटा छन् । १६ गते मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

लगत्तै दोस्रो पटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले एक जनाको ज्यान गएको थियो भने केही घाइते भएका छन् । ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा. भट्टराईले जानकारी दिए।

परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन पनि उहाँको आग्रह छ ।