मधुमेह र ब्लडप्रेसरले निम्त्याउन सक्छ अन्धोपन! सचेत रहनुहोस्

मधुमेह र ब्लडप्रेसरले निम्त्याउन सक्छ अन्धोपन! सचेत रहनुहोस्

धनगढीः धनगढी नेत्रालय प्रा.लि. धनगढीले ७ नम्बर प्रदेशमा आखाँसम्बन्धि बिरामीहरू बढ्दै गइरहेको जनाएको छ। आज प्रथम वार्षिकी मनाउँदै धनगढी नेत्रालयले भौगोलिक विकटता, वातावरणीय प्रदूषण, आर्थिक विपन्नता र आँखासम्बन्धी विरामको अज्ञानताका कारण यस प्रदेशमा आँखाका रोगीहरूको संख्या बढ्दै गएको जनाएको छ।

निजी क्षेत्रबाट सञ्चालनमा आएको धनगढी नेत्रालयले पहिलो वर्षमा मात्र ठुलो संख्याका बिरामीहरूको चेक जाँच तथा उपचार गरेको छ। अस्पालको वार्षिक प्रतिवेदन अनुसार एक वर्षको अवधिमा सशुल्क र निःशुल्क गरी ३६ हजार ५ सय ७३ जना आँखाका बिरामीहरूको चेक जाँच तथा उपचार गरिएको छ। एक हजार १४६ वनाको सशुल्क र २ हजार ५७० जनाको निःशुल्क गरी तीन हजार ७१६ जना आँखाका रोगीहरूको शल्यक्रिया गरेको उक्त वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। 

धनगढी नेत्रालयमा कार्यरत वरिष्ठ चिकित्सक डाक्टर लीलाराज पुरीका अनुसार धेरै जस्तो बिरामीमा मोती बिन्दु देखिएको छ। विशेष गरी थारु बस्ती, जनजाति, दलित, विपन्न तथा लक्षित समूहमा आँखाका बिरामी बढी संख्यामा छन्। उनले स्कुल जाने बालबालिकामा दृष्टि र अलि ठुलो उमेर समूहका मानिसमा मोतीबिन्दुको समस्या देखिने गरेको उनले बताए। 

यस प्रदेशमा रहेको गरिबी, भौगोलिक विकटता, अन्धश्विास र अज्ञानताका कारण पनि आँखा रोगीहरूको संख्या बढी रहेको बताइएको छ। यसको साथै आँखा अस्पतालको पहुँच सबै क्षेत्रमा पुग्न नसक्नु र यस क्षेत्रमा राज्यको न्यून लगानीका कारण आँखा सम्बन्धी रोग भयावह अवस्थामा आउन सक्ने चिकित्सकको भनाई छ। पछिल्लो समयमा विकसित हुँदै गएको प्रविधिमा मानिसहरूको व्यस्तता बढ्नुले पनि आँखामा समस्या निम्त्याएको उनले बताए।

डाक्टर पुरीले मधुमेह र ब्लडप्रेसरका कारण पनि आँखामा असर पर्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको छन्। मधुमेह र ब्लडप्रेसरले अाँखाकाे पर्दामा असर पार्ने भएकाले समयमा उपचार नपाए याे राेग भएका मानिसहरूकाे दृष्टि गुम्नसक्ने खतरा रहने उनले बताए। 

लक्षित वर्गमा सबै बढी आँखा रोगीहरू भेटिएकोले आगामी वर्षमा यस्तो समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने धनगढी नेत्रालयएका प्रबन्ध निर्देशक गजेन्द्र बहादुर चन्दले बताए। उनले नेत्र दान गरेको आँखालाई सुरक्षित राख्नको लागि केन्द्रीय आँखा बैंकसँग समन्वय गर्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यक्रम अस्पतालले राखेको समेत जानकारी दिए।