यी हुन् नयाँ बजेटका १० चर्चित कार्यक्रम

यी हुन् नयाँ बजेटका १० चर्चित कार्यक्रम

अर्थामन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६।७७ का लागि बुधबार १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन्।

बजेटमा केही चर्चित कार्यक्रम सहित केही नयाँ योजनाहरू समावेश गरिएको छ। सरकारले विकास निर्माणको क्षेत्रमा २६ दशमलव ६ प्रतिशत बजेट छुट्याएको छ भने पूँजीगत खर्चका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ राखिएको छ। नियमित खर्च अर्थात चालू खर्चका लागि ६२ दशमलव ४ प्रतिशत अर्थात ९ खर्ब ५७ अर्ब रुपैयाँ बजेट प्रस्तुत भएको छ।

सरकारले लिएको ऋण तिर्न तथा भैपरिआउने कार्यमा खर्च गर्न १ खर्ब ७६ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

बजेटअनुसारको रकम जुटाउन सरकारले राजस्व मार्फत ९ खर्ब ८१ अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। बाँकी रकम वैदेशिक अनुदान र स्वदेशी तथा विदेशी ऋण मार्फत जुटाउने तयारी छ।

सामुदायिक विद्यालयका छात्राहरूलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने, सबै नागरिकलाई स्वास्थ्य बीमाको व्यवस्था, वृद्ध भत्ता वृद्धि गर्ने लगायत बजेटका केही कार्यक्रमलाई सर्वसाधारले स्वगत गरेका छन् निर्वाचित संघीय सांसदहरूलाई ६ करोड बजेट दिने जस्ता कार्यक्रमको विरोध भएको छ।

यी हुन् १५ खर्ब ३२ अर्बको बजेटमा समेटिएका १० चर्चित कार्यक्रमः

१. सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याडः सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटको यो एउटा निकै चर्चित कार्यक्रम हो। ‘देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड उपलब्ध गराइने’ बजेटमा उल्लेख गरिएको छ। रजस्वला हुँदा छात्राहरुले विद्यालय छोड्ने गरेको वा अप्ठेरो अवस्था सामना गर्नु परिहेको बेला सरकारले यो नीति ल्याएको हो।

२. वृद्धभत्ता १ हजार रुपैयाँ वृद्धिः अर्थमन्त्री खतिवडाले बजेट वक्तव्यमार्फत नागरिकमा सर्वाधिक चासो रहेका विषयमध्ये एक, वृद्धभत्ता एक हजार रुपैयाँ बढाएको घोषणा गरेका छन्। मन्त्री खतिवडाले बजेट वक्तव्यमा वृद्धभत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने जानकारी दिए। ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई हाल मासिक रुपमा २ हजार रुपैयाँ भत्ता दिइँदै आएकोमा अब नयाँ आर्थिक वर्षदेखि त्यसमा एक हजार रुपैयाँ थप हुने भएको छ। त्यस्तै एकल महिलाका लागि दिइँदै आएको भत्तामा पनि १ हजार रुपैयाँ वृद्धि भएको छ। यसअघि एकल महिलाले १ हजार रुपैयाँ पाउँदै आएका थिए।

३. सबै नागरिकलाई स्वास्थ्य बीमाः नयाँ आर्थिक वर्षदेखि सबै नागरिकको बैंक खाता कार्यक्रम ल्याएको सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने घोषणा गरेको छ। अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरूसँग समन्वय गरि सरकारले सबै नागरिकलाई स्वस्थ्य बीमाको व्यवस्था गर्ने बजेट भाषण मार्फत उल्लेख गरेका हुन्।

४. कर्मचारीको तलब २० प्रतिशत वृद्धिः सरकारले सबै तहका निजामती कर्मचारीको तलब वृद्धि गरेको छ। सरकारले राजपत्र अनांकित कर्मचारीको तलबमा २० प्रतिशत र राजपत्र अंकितका लागि १८ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री खतिवडाले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेकोे बजेट भाषणमा कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन्। सरकारले कर्मचारीको महँगी र पोसाक भत्ता यथावत् राखेको छ। बढेको तलब राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षकलगायतमा लागू हुने अर्थमन्त्री खतिवडाले जनाएका हुन्।

५. विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताः सरकारले विद्युतीय भुक्तानी सेवालाई विस्तार गर्दै उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेमा भ्याट शुल्क रकमको १० प्रतिशत फिर्ता हुने व्यवस्था गरेको छ। नेपालमा १३ प्रतिशत भ्याट शुल्क लाग्दै आएको छ, जसमा अब नयाँ आर्थिक वर्षदेखि विद्युतीय कार्डबाट भुक्तानी गर्दा १३ प्रतिशत मध्येबाट १० प्रतिशत उपभोक्तालाई फिर्ता हुनेछ।

६. दुई वर्षभित्र भारत र चीन जोड्न रेलमार्ग निर्माण सुरुः काठमाडौंबाट चीन र भारत जोड्ने दुवै रेलमार्गको निर्माण दुई बर्षभित्रै सुरु हुने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। रोक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेलमार्ग निर्माणको तयारी भइरहे पनि विस्तृत परियोजना प्रतिवेदन तयार भैनसकेको अवस्थामा अर्थमन्त्रीले समय नै तोकेर दुई वर्षभित्र निर्माण सुरु हुने घोषणा गरेका हुन्। अर्थमन्त्री खतिवडाले दिगो र सहज स्थल यातायातको माध्यम रेलमार्ग निर्माण गरेपछि मुलुक नयाँ युगमा प्रवेश गर्न सक्ने भएकाले रेलमार्ग प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन भैसकेको पूर्वी खण्ड काँकडभिट्टाबाट निर्माण कार्य सुरु गरिएको छ। बाँकी खण्डको अध्ययन प्रतिवेदन तयार भएपछि मध्य र सुदुरपश्चिम खण्डबाट काम सुरु गरिनेछ। त्यस्तै गरि निजी क्षेत्रको लगानी सहभागितामा काठमाडौं उपत्यका र अन्य सहरमा मेट्रो तथा मनोरेलको सम्भाव्यता अध्ययन गरेर निर्माण गर्ने लक्ष्य राखिएको छ। मेट्रो, मोनो तथा रेलमार्गका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

७. सडक मर्मत खर्चका लागि पेट्रोलियममा १ रुपैयाँ करः सरकारले सडक मर्मतका लागि पेट्रोल र डिजेल लिटरमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। बुढीगण्डकी जलविद्युत आयोजनाका लागि यसअघि प्रतिलिटर पाँच रुपैयाँ लिइँदै आएकोमा अब एक रुपैयाँ थपिएको हो। यो रकम सडक मर्मतमा खर्च हुने अर्थमन्त्री खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै बताएका हुन्। यो रकमले उपभोक्तालाई व्ययभार थपिने छ। साउन १ गतेदेखि पेट्रोल र डिजेल एक लिटरमा १ रुपैयाँ कर थपिने छ।

८. निर्वाचित संघीय सांसदलाई ६ करोड बजेटः सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्वाचित संघीय सांसदहरूलाई ६ करोड बजेट दिने भएको छ। संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले प्रत्येक निर्वाचित सांसदलाई यसअघि ४ करोड बजेट दिइँदै आएकोमा २ करोड वृद्धि गरि ६ करोड पुर्याएका हुन्। स्थनीय तहको विकास निर्माणको काम स्थानीय निकायले नै हेर्ने भएकाले नीति निर्माणका लागि निर्वाचित भएका सांसदहरूलाई यसरी छुट्टै बजेट दिइनु हुँदैन भन्ने जनआवाजलाई बेवास्ता गर्दै बजेट बढाइएको हो। यो वर्ष संसदहरुले झन् १० करोड रुपैयाँ माग गर्दै आएका थिए। बजेटमा सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ।

९. आपतकालीन अवस्थामा विमान अवतरण गराउन मिल्नेगरी राजमार्गहरूको निर्माणः सरकारले आपतकालीन अवस्थामा विमान अवतरण गराउन मिल्नेगरी राष्ट्रिय राजमार्ग निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री खतिवडाले बजेट पेश गर्दै यस्तो घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेका थिए। सम्भाव्यताको आधारमा राजमार्गको कुनै खण्डको दायाँबायाँ खाली क्षेत्र कायम गरि आपतकालीन अवस्थामा विमान अवतरण गर्न सक्ने बनाउने उनले घोषणा गरे। कुन–कुन राजमार्गमा यस्तो निर्माण गरिने हो अहिले खुलाइएको छैन। सुरक्षा दृष्टिले हेरिने यस्तो कार्यक्रमका लागि कति बजेट विनियोजन गरिएको छ भन्ने पनि अर्थमन्त्रीले उल्लेख गरेनन्।

१०. काठमाडौंमा फ्लाइओभर र अन्डर पास निर्माणः सरकारले सवारी साधनको अत्यधिक चाप रहने राजधानीको नयाँ वानेश्वरमा अन्डर पास बनाउने भएको छ।अर्थमन्त्री खतिवडाले बजेट वक्तव्यमा यसबारे जानकारी दिँदै त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर निर्माण गर्ने घोषणा गरे। सोसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरि निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री खतिवडाले बताए।