डडेलधुराको अजयमेरुमा तालाबन्दी, नगर सभा प्रभावित

डडेलधुराको अजयमेरुमा तालाबन्दी, नगर सभा प्रभावित

डडेलधुरा । अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । 

गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिए। 

“निमित्तको जिम्मेवारी दिने र प्रमुख प्रशासकीय अधिकृत ल्याउने विषयमा पटक पटक आग्रह गर्दा पनि बेवास्ता भएपछि तालाबन्दी गरेका हौँ,” उनले भने । विगतदेखि नै अजयमेरु गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको पाइएको छ । 

गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकाशकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनु भन्दै परिपत्र गरेको थियो । परिपत्रको बुँदा नम्बर ९क० मा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरूपता कायम गर्न आवश्यक र जरुरी देखिएकाले निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्थाबमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रूपमा मिलाउनु भनिएको छ । 

तर अजयमेरुमा भने जुनियर शिक्षा शाखा अधिकृत लालबहादुर सेठीलाई जिम्मेवारी दिँदा कर्मचारीले तनाव भोग्नु परेको छ । उहाँभन्दा वरिष्ठ चार जना छैटौँ तहका अधिकृत छन् । सेठीलाई गत वर्ष निमित्त तोकिएको थियो । 

असारमा मन्त्रालयबाट आएको पत्रपछि गाउँपालिकाले उहाँको स्थानमा वरिष्ठ कर्मचारीलाई निमित्त तोक्नुपर्ने थियो । नियमसङ्गत निमित्त नतोकिँदा गाउँपालिकामा कार्यरत कर्मचारीले असारपछि तलब नै पाएका छैनन् । सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भइरहेको छ । 

विवादले नगर सभा प्रभावित

कमलबजार समाचारदाताका अनुसार अछामको कमलबजार नगरपालिकामा करार कर्मचारी विवाद चुलिएपछि कर्मचारीले तलब पाउन सकेका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण कार्य अवरुद्ध भएको छ । 

करार कर्मचारी हटाउने र राख्ने विषयमा नगर प्रमुख र उपप्रमुखबिचको विवादका कारण नगर सभासमेत अनिश्चित बनेको छ । नगर सभा नबसेको भन्दै चार राजनीतिक दलले एक हप्तादेखि पालिकाका विभिन्न शाखामा तालाबन्दी गरेका छन् । 

नेकपा (एकीकृत समाजवादी), नेमकिपा, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र जनता समाजवादी पार्टीका प्रतिनिधिले नगर सभाको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन् । 

पुराना करार कर्मचारी हटाउनुपर्ने माग राख्दै आउनुभएकी नगर उपप्रमुख शारदा विष्टले नियुक्तिबिना नै १३ जना कर्मचारी भर्ना गरेको आरोप लागेको छ । उपप्रमुख विष्टले बिनाप्रतिस्पर्धा आफ्नो स्वकीय सचिवदेखि कार्यालय सहयोगीसम्म १३ जना कर्मचारी राखेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । 

उपप्रमुख विष्टले राखेका कर्मचारीको  नगरपालिकामा कुनै जानकारी नभएको पालिकाका प्रशासन शाखा प्रमुख पूर्णप्रसाद बजगाईंले जानकारी दिए। उनले भने, “हाम्रो हाजिरी पुस्तिकामा करार सम्झौता भएका र स्थायी कर्मचारीको मात्र नामावली भएकाले उहाँहरूबाहेकको हाजिरी छैन ।” 

नगरपालिकामा भएको तालाबन्दीले दसैँको मुखमा बिदा लिएर दसैँ मनाउन घर जान लागेका स्थानीय कर्मचारीले समेत तलब पाएका छैनन् ।

गोरखापत्रबाट