धादिङमा चार स्थानमा सवारी दुर्घटना, १८ जना घाइते

धादिङमा चार स्थानमा सवारी दुर्घटना, १८ जना घाइते

काठमाडौँ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोक्किन पुगेको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको डीएसपी जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन् ।

त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा २१ प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका थिए ।

त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीन जना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।