पत्रकार सीता शर्माको निधन

पत्रकार सीता शर्माको निधन

नवलपरासी । नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज ९केएमसी०मा छोरीलाई जन्म दिएकी थिइन् ।

‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो ।

मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि काठमाडौं लैजाने क्रममा बाटोमा थप जटिल समस्या देखिन थालेपछि उनलाई परासीस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्मालाई अस्पतालले मृत घोषणा गरेको परिवारजनले जानकारी दिएको छ । सामुदायिक सूचना नेटवर्क (सिएनन), माउण्टेन टेलिभिजन, रेडियो परासीलगायतका सञ्चामाध्यममा काम गर्दै आएकी पत्रकार  शर्मा पछिल्लो पटक केही अनलाइनमा आवद्ध थिइन् ।

उनी क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । पत्रकार शर्माका पति राजेश साहनीसमेत पत्रकार महासंघका सदस्य हुन् । उनीहरुले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएका हुन् । छोरीको अवस्था भने स्वस्थ रहेको परिवारजनले जनाएको छ ।