दशैंको टिकाको तेस्रो दिन आज, टिका जमरा ग्रहण गर्ने क्रम जारी

दशैंको टिकाको तेस्रो दिन आज, टिका जमरा ग्रहण गर्ने क्रम जारी

काठमाडौं। दशैंको टिकाको तेस्रो दिन आज पनि मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ ।

विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ ।

दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ ।