विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे बेङ्लोरमा शुरु हुनेछ ।

इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एकरएक खेल जितेका छन् । समान दुई अङ्ककासाथ श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ स्थानमा छ । इङ्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो ।

त्यस्तै, तेस्रो खेलमा अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकासँग हारेको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग, दोस्रो खेलमा पाकिस्तानसँग, तेस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो भने चौथो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

हिजो भएको खेलमा अस्ट्रेलियाले विश्व कप क्रिकेट इतिहासकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।  नेदरल्यान्ड्स अस्ट्रेलियासँग ३ सय ९ रनको फराकिलो अन्तरले पराजित भयो । जितसँगै अस्ट्रेलियाको ६ अङ्क भएको छ । अस्ट्रेलिया अङ्क तालिकाको चौथो स्थानमा छ ।