इजरायलमा मृत्यु भएका  बझाङका एक विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा मृत्यु भएका  बझाङका एक विद्यार्थीको शव नेपाल ल्याइयो

धनगढी । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ। फ्लाई दुबईको विमानमार्फत बिहान ७ बजे उनको शव काठमाडौं ल्याइएको हो।

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

हमासको आक्रमणमा परी मृत्यु भएका बाँकी पाँचजनाको शव पनि चाडै नेपाल ल्याइने उनले बताए।

यसअघि दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन्।

यसै घट्नामा कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्।