इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

इजरायलद्वारा गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी

इजरायलले गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक टेलिभिजनमा सम्बोधन गर्दै गाजा क्षेत्रमा स्थलगत सैन्य आक्रमणको तयारी भएको बताउनु भएको हो । तर, कहिले भन्नेबारे उहाँले केही नबताएका बीबीसीले जनाएको छ ।

यस्तै, इजरायलले गाजा क्षेत्रमा इन्धन नदिने जनाएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इन्धनलाई आफ्नो पूर्वाधारमा प्रयोग गर्न सक्ने इजरायलको आरोप छ । युद्धका कारण गाजामा मानवीय सङ्कट गहिरिँदै गएको छ ।

राष्ट्रसङ्घीय निकायले पनि इन्धन आपूर्ति नभए काम गर्न अप्ठ्यारो पर्ने र गाजा क्षेत्रका अस्पताल पनि बन्द हुनसक्ने चिन्ता प्रकट गरेका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको बताउनु भएको  छ ।

यसैबीच, गाजामा गएराति पनि भीषण बमबारी भएको र कयौँको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गएको २० गतेदेखि इजरायल र हमासबीच भइरहेको युद्धमा इजरायल र प्यालेस्टाइनका गरी झन्डै आठ हजार जनाको ज्यान गएको छ ।