धौलागिरि अस्पतालमा जन्मियो पहिलोपटक बढी तौल भएको बच्चा

धौलागिरि अस्पतालमा जन्मियो पहिलोपटक बढी तौल भएको बच्चा

काठमाडौँ । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका– ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन्  ।

उक्त बच्चाको तौल ४ केजी ७ सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्य रूपमा उनले छोरा जन्माएको अस्पतालकी नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो ।

पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्य रूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्य रूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् ।

दसैँको  बेलामा पोखरा जान पनि गाह्रो थियो । नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए ।

यसभन्दा अघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकोमा अहिले ४ किलो ७ सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको  बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो ।अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।