इजरायलमा मारिएका नेपालीको शव आफन्तलाई बुझाइयो

इजरायलमा मारिएका नेपालीको शव आफन्तलाई बुझाइयो

धनगढी । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ ।

 बिहिबार राति १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको नेपालीको शव बझाङ पठाइएको हो ।
फ्लाई दुबईको विमानमार्फत बिहिबार बिहान ७ बजे काठमाडौं पुगेको नेपालीको शव राती धनगढी ल्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले धनगढी खबरलाई  भने –‘राती १ बजे शव धनगढी पुगेको थियो । सोही समय हामीले धनगढी नेत्रालयको एम्बुलेन्समार्फत शवलाई बझाङ् पठाएका छौं ।’ नेपालीको आजनै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने उनको भनाई छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको आइतबार शव आफन्तको जिम्मा लगाइएको थियो । नेपालीको शव बिहिबार राती धनगढी पुगेसंगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । हमास आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका छन् । 

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ ।

प्रदेशका थप दुई जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र चाडै नेपाल ल्याइ आफन्तको जिम्मा लगाइने जनाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् ।