उद्धारमा खटिएका डीएसपी तिवारी माथि चक्कु प्रहार

उद्धारमा खटिएका डीएसपी तिवारी माथि चक्कु प्रहार

बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।

कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि उनी घाइते भएक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । त्यो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयो । तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि थापाले उनीमाथि नै चक्कु प्रहार गरेका थिए ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति झन्डै ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक अवस्था ठिक नभएको बताए ।