सुदूरपश्चिमका भूकम्प  प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै रेडक्रस

सुदूरपश्चिमका भूकम्प  प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै  रेडक्रस

धनगढी । नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि २५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।

गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तराष्ट्रिय महांघ ९आईएफआरसी० आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।

त्यसैगरी ती दुई जिल्लाका ६ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।

सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए ।

‘गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्’, उनले भने, ‘अहिलेको भूकम्पमा पूर्ण रूपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ ।’

यसपटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पुर्‍याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पुर्‍याएको थियो ।

रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्ण रूपमा क्षतिग्रस्त छ ।