शान्ति पुनर्स्थापना गृहद्धारा बेचबिखनको जोखिममा परेका एक हजार बढीको उद्धार

शान्ति पुनर्स्थापना गृहद्धारा बेचबिखनको जोखिममा परेका एक हजार बढीको उद्धार

सुदूरपश्चिम । मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।

धनगढीमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिममा भारतसहित अन्य मूलक पुगेका ८७ व्यक्तिलाई उद्धार गरेर ल्याइएको जानकारी दिइयो । तीमध्ये कतिपयलाई विदेशबाट र अन्य कतिपयलाई नेपाल(भारत सीमा नाकाबाट उद्धार गरिएको पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक संजितसिंहले बताए ।

“निरक्षर महिलालाई विभिन्न प्रलोभन दिएर ललाइफकाइ भारतसहित विभिन्न मुलुकमा पुर्‍याउने घटना भइरहेका छन्”, उनले भने, “बेचिनेमा खासगरी एकल, निरक्षर र बेरोजगार महिला बढी छन् ।” विभिन्न प्रलोभन दिएर ललाइफकाइ निरक्षर महिलालाई बेचबिखनको फन्दामा पार्नेमा गिरोह नै सक्रिय रहेको जानकारी दिइयो । 

सो अवधिमा प्रहरीको रोहवरमा एक हजार चार सय ४९ जानालाई सम्बन्धित परिवारमा हस्तान्तरण गर्नाका साथै २६ हजार नौसय ८७ महिला तथा बालबालिकालाई परामर्श दिइएको बताइएको थियो  । उक्त संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरू देखिन थालेका छन् । 

इन्टरनेट, मोबाइल फोनलगायत सामाजिक सञ्जालको सहज पहुँचका कारण मानव बेचबिखन तथा ओसारपसार रोकथाममा अर्को चुनौती थपिएको संयोजक सिंहले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाथारुले मानव बेचबिखन तथा ओसार पसारविरुद्ध उपमहानगरपालिकाले यस संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले आगामी दिनमा स्थानीय तहसँग पनि हातेमालो गरी मानव बेचबिखनविरुद्धको अभियानलाई सक्रिय बनाइने बताए । वि।सं।२०५० देखि काम गर्दै आएको सो संस्थाले विगतमा सिन्धुपाल्चोक, रसुवा, मकवानपुर ,चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा मानव बेचबिखन तथा ओसार पसार रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै सीमामा निगरानी, पैरवी, तथा जनचेतनामूलक कार्य गर्दै आएको छ ।

सो क्रममा सरोकारवाला निकाय, संस्था र व्यवसायीसँगको समन्वय तथा सम्पर्क गरेर मानव बेचबिखन तथा ओसारपसारको कामलाई हतोत्साहित पार्ने, भारतलगायत तेस्रो मुलुकमा मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरी नेपाल फिर्ता गर्न पहल गर्ने, उद्धार पश्चात् उनीहरूलाई  सुरक्षित आवास, सीपमूलक तालिम,कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरेर परिवार र समाजमा ससम्मान पुनर्स्थापना गर्ने जस्ता गतिविधि पनि गर्दै आइएको जनाइएको थियो ।