आलु व्यवस्थापन गर्दै गाउँपालिका

आलु व्यवस्थापन गर्दै गाउँपालिका

बाजुरा : गौमुल गाउँपालिकामा सिंँचाइका लागि खेतियोग्य जमिन छैन । यहाँका किसान पाखो जग्गामा आलु, कोदो, फापर, मकै, जौ लगायतका नगदेबाली र तरकारीवाली लगाएर जीविकोपार्जन गर्छन् ।

भएको पाखो जग्गामा बाली फलाउन किसानहरू दिनरात मिहिनेत गर्दा पनि उनीहरूलाई आफुले लगाएको नगदेबालीबाट ६ महिना पनि खान पुग्दैन । गाउँपालिकाको मुल्दुगुन, माडी, अन्द्राडीको नजिक बजार छैन । गाउँपालिकाको केन्द्र रहेको घट्मुनामा सानो बजार भए पनि त्यँहाका किसानलाई बजार पुग्न एक दिन पुरै हिँड्नुपर्ने बाध्यता छ ।

‘नजिकै बजार नहुँदा किसानले उत्पादन गरेको आलुलगायत अन्य नगदेबाली घरमै कुहिने अवस्था छ,’ मुल्दुगनुकी शकुन्तला रोकायाले भनिन्, ‘जिल्ला सदरमुकाम मार्तडीमा ल्याउनका लागि सडकको पहुँच पुगेको छैन ।’

गाउँमा पर्याप्त आलु उत्पादन भए पनि त्यसको बजारीकरण नहुँदा घरमै आलु कुहिने गरेको किसानहरूको गुनासो छ । गाउँमा किसानले उत्पादन गरेको आलुलाई मध्यनजर गर्दै गाउँपालिकाले आलु व्यवस्थापन गर्ने नयाँ अभियान चलाएको छ ।

उत्पादित आलु आधुनिक तरिकाले व्यवस्थापन गर्न गाउँमै आलु चिप्स बनाउने कार्यक्रम अघि सारेको छ । हाल आलुको पकेट क्षेत्रका रूपमा रहेको वडा १, अन्द्राडीका ३ कृषकलाई आलु चिप्स बनाउने तालिम पनि प्रदान गरिसकेको छ । कृषकहरू पनि आफुले उत्पादन गरेको आलुको सदुपयोग हुने भयो भनेर खुसी देखिन्छन् ।

‘यसअघि जति उत्पादन गरेपनि आफुलाई खान बाहेक अरु काम लाग्दैनथ्यो । गाउँपालिकाले आलुलाई व्यवस्थित गर्ने उद्योग संचालन गरेपछि आफ्नो उत्पादनको ब्यवसायिक प्रयोग हुने विश्वास छ,’ तालिममा सहभागि अर्जुन सार्कीले बताए । अर्का सहभागी मानबहादुर सार्की पनि खुसी हुँदै आलुबाट आम्दानी बढाउने उपाय सिकेको बताए । साभार : कान्तिपुर