सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी आक्रमणको प्रयास असफल भएको छ ।

आइतबार राति विप्लव समूहले आक्रमण गर्ने सूचना पाएपछि चौकीमा रहेका प्रहरी हतियारसहित सुरक्षित ठाउँमा गइसकेकोले आक्रमणको प्रयास असफल भएको हो । राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेको बताइएको छ । 

चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । केही दिन अघि देखि नै शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि प्रहरीले त्यहाँ उच्च सतर्कता अपनाएको थियो । 

यदि चाहेको भए विप्लव कार्यकर्ता पक्षको ठूलो क्षति हुने भए पनि आफूहरुको तर्फबाट सतर्कता अपनाएको प्रहरी श्रोतले बताएको छ । अहिले सोलुखुम्बुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा रहेको छ । प्रहरीले घटनाको पुष्टि भने गरेको छैन । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले अहिले सुरक्षा समितिको बैठक बसिरहेको र बैठक सकिएपछि  पूर्ण जानकारी दिने बताउनुभयो । 

महाकुलुङ्ग गाउँपालिकाका अध्यक्ष सागर किरातीले केही नयाँ अनुहार गाउँमा देखिएपछि सुरक्षा सतर्कता अपनाएको भए पनि उनीहरु विप्लव कार्यकर्ता भए नभएको यकिन नभएको बताउनुभयो । उहाँले राति प्रहरी सुरक्षित ठाउँमा गएको नभई गस्तीमा गएको बताउनुभयो । अहिले प्रदेश र जिल्लाबाट सशस्त्र प्रहरी र जनपथ प्रहरीको थप टोली हेलिकप्टरमार्फत त्यहाँ पुगिसकेको छ । 

घटना भएको ठाउँ जिल्ला सदरमुकाम सल्लेरीबाट झण्डै २५ कोश टाढा रहेको छ । घटना बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।