कैलाली आन्तरिक राजश्वमा एक हजार बढी नयाँ करदाता थपिए

कैलाली आन्तरिक राजश्वमा एक हजार बढी नयाँ करदाता थपिए

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा पछिल्लो पाँच महिनामा एक हजारभन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । 

आन्तरिक राजश्व कार्यालय कैलालीका अनुसार साउनदेखि कार्तिकसम्ममा एक हजार चार सय ८४ नयाँ करदाता थपिएका हुन् । कार्यालयले सो अवधिमा ६१ करदाताले स्थगन गराएको जनाएको छ ।

कार्यालयका कर अधिकृत मोहनराज भट्टले नयाँ करदातालाई करको दायरामा ल्याउने कार्य भइरहेको बताए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी व्यक्तिगत स्थायी लेखा नम्बर लग्ने करदाताको संख्या बढी रहेको छ ।

कार्यालयका अनुसार एक लाख २३ हजार चार सय ८१ करदाताले स्थायि लेखा नम्बर लगेका छन । जिल्लामा ५८ हजार आठ सय ९२ व्यवसायीक करदाता रहेकोमा भ्याटमा आठ हजार एक सय ५९ जनाले दर्ता भएको उनको भनाई छ ।

कार्यालयले यस वर्षको अवधिमा तीन अर्व आठ करोड ४१ लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पाँच महिनाको अवधिमा ९७ दशमलब ६५ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।

कार्यालयले अहिले प्रविधिमा जोड दिइरहेको उनको भनाई छ । उनले भने –‘आय विवरण घरबाटै अनलाईन भर्न सकिने र कर चुक्ता पनि घरबाटै प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।’