गाजाबाट २५ बन्धक रिहा, पहिलो चरणमा छुटेनन् विपीन

गाजाबाट २५ बन्धक रिहा, पहिलो चरणमा छुटेनन् विपीन

काठमाडौँ । इजरायलसँगको अल्पकालीन युद्धविरामका क्रममा प्यालेस्टाइनी सशस्त्र समूह हमासले २५ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट १३ जना इजरेली र १२ जना थाइ बन्धकहरू रिहा गरिएको हो ।

हमासले नियन्त्रणमा लिएका १३ जना इजरेली बन्धकहरू बुझेको रेडक्रसले उनीहरूलाई इजिप्ट पुर्‍याएको विवरणहरूमा जनाइएको छ । रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका उनीहरू त्यहाँबाट दक्षिण इजरेलको एक सैन्य हवाई अड्डा पुग्नेछन् ।

बेग्लै सहमति अनुसार भन्दै थाइल्याण्डका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् । ती सबै पुरूषहरू रहेको उनीहरूलाई रिहा गराउने प्रक्रियामा संलग्न एक अधिकारीले थाइ सञ्चारमाध्यमहरूलाई बताएका छन् । पहिलो चरणमा नेपाली विद्यार्थी विपीन जोशी भने रिहा नभएको देखिएको छ।

कतारले मध्यस्तता गरेको चारदिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौता अनुसार शुक्रवार नै इजरेलले महिला र बालबालिका सहितका ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्दैछ । इजरेल-हमास युद्धमा शुक्रवार बिहान ७ बजे अस्थायी सङ्घर्षविराम सुरु भएको थियो ।

इजरेल(हमास सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ । अस्थायी युद्धविराम सहमति अन्तर्गत सहायता बोकेका कम्तीमा ६० ट्रकहरू इजिप्टतर्फको रफाह नाका हुँदै गाजा प्रवेश गरेका छन् । इजरेलका अनुसार तीमध्ये आठ वटाले इन्धन बोकेका छन् ।