सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका लागि प्रधानमन्त्रीसंग भेटवार्ता

सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनका लागि प्रधानमन्त्रीसंग भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । प्रदेश सरकारले यहि फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तथा प्रदेशका अन्य समस्याबारे जानकारी गराउन प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

लगानी सम्मेलनबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए ।

प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री  दाहाललाई भेटेर लगानी एवं विकास सम्मेलनको लागि संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, सभामुख भण्डारी सहित संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाही, सामाजिक विकासमन्त्री झपट साउदसहित माओवादी संसदीय दलका नेता खगराज भट्ट माओवादी सांसद ओम विक्रम भाट सरल र लक्ष्मी बिक थिए ।

उनीहरुले सुदूरपश्चिम प्रदेशमा लगानी भित्राउन पहल गर्न र लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले तत्काल मन्त्रिपरिषद् बैठकबाट सुदूरपश्चिममा आयोजना हुने लगानी एवं विकास सम्मेलनमा सहयोग र समन्वयन गर्ने आश्वासन दिएका हुन् । सुदूरपश्चिम सरकारले उक्त सम्मेलनको प्रमुख अतिथिको लागि पनि प्रधानमन्त्रीलाई निम्ता दिएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेपछि मुख्यमन्त्री शाह, भौतिक मन्त्री देउवा र आर्थिक मामिला मन्त्री शाहीले संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतलाई समेत भेटेका थिए । उक्त भेटमा पनि लगानी एवं विकास सम्मेलनमा संघीय सरकारले नीतिगत सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको थियो ।