भन्सारको राजस्व संकलन लक्ष्यकै हाराहारी

भन्सारको राजस्व संकलन लक्ष्यकै हाराहारी

कञ्चनपुर : साइकलमा हुने मालसामान ढुवानीका भरमा कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यकै हाराहारीमा राजस्व संकलन गरेको छ । नियमित नाका खुला नहुने र चोरी तस्करी पूर्ण नियन्त्रण नहुँदासमेत लक्ष्यअनुसारै राजस्व संकलन भएको हो ।

कञ्चनपुर भन्सार कार्यालयले वैशाखसम्म ३२ करोड ५० लाख राजस्व संकलनको लक्ष्य लिए पनि ३१ करोड ४३ लाख संकलन भएको छ । जुन लक्ष्यको साढे ९६ प्रतिशत हो । भन्सार कार्यालयले असोज, कात्तिक र मंसिरमा लक्ष्यभन्दा १५ देखि २५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । अन्य महिनामा लक्ष्यभन्दा कम संकलन भएको छ ।

‘वनबासा पुलमा १० टनभन्दा बढी मालसामान ढुवानी गर्न पाइँदैन,’ कञ्चनपुर भन्सारका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले भने, ‘त्यो पनि नियमित खुला हुँदैन ।’ उनले अधिकांश राजस्व साइकलबाट हुने ढुवानीबाट संकलन भएको बताए । गड्डाचौकी नाकाबाट दैनिक ८० देखि १ सयजति साइकलमा मालसामान ढुवानी हुँदै आएको छ ।

खुला नाकामा चोरी तस्करीका कारण पनि राजस्व संकलनमा समस्या रहेको भन्सार अधिकृत अधिकारीले बताए । उनले विगत ३/४ वर्षदेखि राजस्व संकलन यहि गतिमा गइरहेको छ । चालु आवमा भन्सार कार्यालले ४० करोड बढी राजस्व संकलनको लक्ष्य पाएको छ ।

‘चोरी तस्करीका कारण पनि राजस्व संकलनमा केही समस्या आएको छ,’ अधिकारीले भने, ‘अहिले त भन्सार सुनसान बजार गुलजार हुने अवस्था आएको छ ।’ उनले चोरी तस्करी नियन्त्रणका लागि भन्सार कार्यालयले नियमित गस्तीसमेत बढाएको बताए । विभिन्न नाकामा सुरक्षाकर्मीकै मिलेमतोका कारण भन्सार छली हुने गरेको छ ।

केही सुरक्षाकर्मीले मालसामान ढुवानीकर्ताबाट महिनावारी संकलन गरी तस्करीलाई सहयोग गरेका छन् । भन्सारकै अगाडि र पछाडिबाट समेत चोरी तस्करी हुने गरेको छ ।

‘भन्सारकै कर्मचारीले चोरी तस्करीको मालसामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छन्,’ अधिकारीले भने, ‘जेठ र असारमा मात्रै साढे ७ करोड बढी राजस्व संकलन गर्न बांँकी छ, लक्ष्य भेटाउनकै लागि पनि हामीले नियमित गस्ती बढाएका छौं ।’

वर्षायाममा महाकालीको बाढीले कैयौं दिन वनबासा पुल बन्द हुँदा पनि मालसामान आयात प्रभावित भई राजस्व संकलन प्रभावित भएको हो । साभार : कान्तिपुर