खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चलायो सात उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चलायो सात उद्योगविरुद्ध मुद्दा

धनगढी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सात वटा कम्पनिविरुद्ध मुद्दा चलाएको छ ।

कार्यालयले पहिलो त्रैमासिकको प्रगति समिक्षा गर्दै सुदूरपश्चिम प्रदेशमा खाद्य ऐन विपरीत रहेको सात उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिएको हो ।

कार्यालयका प्रमुख नवराज दाहालले भने ‘पहिलो त्रैमासिकमा अनुसन्धान पुरा भएका प्रतिकुल नमूना उपर खाद्य निरिक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा दुई–दुई र कैलाली जिल्ला अदालतमा दुई र कञ्चनपुर जिल्ला अदालतमा एक गरी जम्मा सात वटा प्रतिकुल नमूना उपर मुद्दा दायर गरिएको छ ।’

उनका अनुसार कार्यालयले लेबल उल्लेख नभएका र दुषित पानी विक्री गरिरहेका कम्पनिविरुद्ध मुद्दा दायर गरेको छ । जसमा तीन पानी उद्योग र चार वटा खाद्य उद्योग रहेका छन् ।

कार्यालयले दुषित पानी उत्पादन गर्ने आकाशगंगा वाटर एण्ड वेभरेज इण्डिष्ट्रिज, अंकित ड्रिकिंग वाटर इण्डिष्ट्रिज र महादेव वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग तथा लेबल उल्लेख नभएका न्यू जोशी चाउमिन उद्योग, ग्रीन होम प्रालि, महता खाद्यान्न खरिद विक्री केन्द्रविरुद्ध मुद्दा दायर गरेको छ ।

उनका अनुसार दुषित पानी उद्योगविरुद्ध जिल्ला अदालत र लेबल सम्बन्धिको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर भएको छ ।

कार्यालयले गत आर्थिक वर्षदेखि लगत सरि आएका ३० उद्योगी व्यवसायीहरुसंग बयान लिने, जिल्ला सरकारी वकिल कार्यालयबाट निर्णय निकासा लिने कार्य अघि बढाएको जनाएको छ । 

प्रमुख दाहालले त्रैमासिकमा कार्यालयबाट २४ वटा नमुना र तीन वटा डिभिजन कार्यालयहरुबाट ६२ वटा नमुना गरी ८६ वटा खाद्य तथा दाना नमुना संकलन गरी कारबाही प्रक्रिया अघि बढाएको बताए ।

कार्यालयले पहिलो त्रैमासिकमा विभिन्न माध्यमबाट प्राप्त नौ वटा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धीको उजुरी तथा गुनासो सम्बोधन तथा व्यवस्थापन कार्य गरेको प्रमुख दाहालले बताए । उनका अनुसार डिभिजन वन कार्यालय डडेल्धुराबाट तीन र डोटीबाट दुई पटक सो कार्य भएको थियो ।

खाद्यमा गुणस्तर तथा स्वच्छता ल्याउन कार्यालयले नमुना विश्लेषण सेवा प्रदान गर्दै आएको उनको भनाई छ । उनका अनुसार प्रथम त्रैमासिकमा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणका लागि संकलित छ सय ८३, अनुरोध भई आएका ४७, बजार अनुगमनबाट ऐन बमोजिम निरिक्षकबाट संकलित ७७ र अनुसन्धानात्मक ५९ गरि जम्मा आठ सय ६६ वटा खाद्य तथा दाना  नमुनाहरुको विश्लेषण गरेको छ ।