धनगढीले स्वीकृत प्रदान गरेका सडक बत्ती गुणस्तरहिन

धनगढीले स्वीकृत प्रदान गरेका सडक बत्ती गुणस्तरहिन

धनगढी । धनगढी उपमहानगरपालिकाले स्वीकृत प्रदान गरेको सडक बत्तिको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ । उपमहानगरपालिकाले वडा कार्यालयहरुलाई अख्तियारी तथा स्वीकृत प्रदान गरी खरिद गरिएका सडक बत्तीको गुणस्तरमा व्यापारीहरुले प्रश्न खडा गरेका हुन् ।

धनगढीका १९ वडामध्ये केही वडाहरुले चालु आर्थिक वर्षमा सडक बत्ती जडान तथा खरिदका लागि विद्युतिय माध्यमबाट बोलपत्र आह्वान गराएका थिए । वडा कार्यालयको आह्वानमा छनौटमा परेको ठेक्का कम्पनिको सम्झौता उपमहानगरपालिकाले स्वीकृत गरेको वडा अध्यक्षहरु बताउँछन् । ‘हामीले बोलपत्र आह्वानमार्फत कम्पनिको छनौट  गरेका थियौं । त्यसलाई उपमहानगरपालिकाले स्वीकृत गरेपछि खरिद प्रक्रिया अघि बढाइएको हो’ वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खडकाले भने ‘यो कम्पनिको बत्ती सुदूरपश्चिम कहि पाइएन । काठमाडौंबाट ल्याइएको हो । पहिलेको तुलनामा अहिले बढी उज्यालो दिने भएपछि स्थानीयहरु खुशी छन् । अव गुणस्तर जाँच गर्ने यहाँ प्रविधि छैन् । गुणस्तरिय हो वा होइन यसको दाबी गर्न सकिदैन् ।’

धनगढी उपमहानगरपालिकाको अख्तियारी बिना कुनै पनि वडाहरुले कुनै पनि सामाग्री खरिद गर्न पाउदैनन् । तर, नगर प्रमुख गोपाल हमाल वडा कार्यालयहरुलाई दोषी देखाउँदै आफु पन्छिने काम गरिरहेका छन् ।

कानुनतः उपमहानगर, नगरपालिका तथा गाउँपालिकाले कुनै सामान खरिद गर्दा स्थानीय सञ्चीत कोष व्यवस्थापन प्रणाली (सुत्र)मार्फत गराउनुपर्ने हुन्छ । त्यसका लागि कार्यालयमा लेखा अधिकृत अनिवार्य हुनुपर्छ । तर, धनगढीका कुनै पनि वडाहरुमा लेखा अधिकृतको व्यवस्था छैन् । एक लेखा अधिकृतले भने –‘वडामा लेखा अधिकृत भएको भए वडा कार्यालयले खरिद गरेको मानिन सकिन्छ । तर, धनगढीका कुनै पनि वडामा लेखा अधिकृतको व्यवस्था छैन् ।’ वडा कार्यालयले खरिद गरेका सडक बत्तिको भुक्तानी प्रक्रिया उपमहानगरपालिकाबाटै हुने व्यवस्था रहेको छ । स्थानीय कोष व्यवस्थापन प्रणालीमा भनिएको छ –‘नगर प्रमुखले कुनै पनि योजना तथा कार्याक्रम कार्यान्वयनका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गर्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी प्राप्तीपछि सम्बन्धित वडा तथा शाखालाई कार्यक्रम सञ्चालनको स्वीकृत प्रदान गर्न सकिने व्यवस्था छ ।’

धनगढी उपमहानगरपालिका महेशराज भट्टले व्यापारीका बिवादका कारण खरिद भएका सडक बत्तीको गुणस्तरमा विवाद शुरु भएको बताए । उनले भने –‘व्यापारीहरुले गुणस्तरमा प्रश्न खडा गरेपछि मापनका लागि काठमाडौं पठाइएको थियो । अहिले केही वडाहरुका सडक बत्तीमा कमसल देखिएपनि केहीमा कमसल नरहेको पाइएको छ । कमसल देखिएका सडक बत्तीको कोडिङ गरिएको छ । कमसल देखिएका बत्तीहरुको सम्झौता रद्द गरिने छ ।’

छ लेन सडक बत्ती पनि कमसल

धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरण धनगढी शाखाको सहयोगमा धनगढी चौराहदेखि एयरपोर्टसम्म जडान गरिएका सडक बत्तीहरु पनि कमसल रहेको जनाइएको छ ।

छ लेन सडकको सडक बत्तीको गुणस्तरमा पनि प्रश्न आएपछि उपमहानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट जडान गर्ने तयारी गरेको जनाइएको हो ।

उपमहानगरले दोस्रो चरणमा ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडमा जडान भएको स्मार्ट स्ट्रिट लाइटको पनि परीक्षण गराएको थियो । स्मार्ट स्ट्रिट लाइट आइएसओ प्रमाणित नभएको पाइएपछि बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको जनाइएको छ । सडक बत्ती परीक्षणको नतिजा अध्ययन भइरहेको छ भने नयाँ स्मार्ट स्ट्रिट लाइट जडान नगर्दासम्म कम्पनीलाई भुक्तानी नदिने उपमहानगरपालिकाले जनाएको छ ।

वडाको खाता नखुल्दै खरिदको चर्चा

‘विद्युतिय सामाग्रि खरिद तथा जडान कार्य गर्दा तोकिएको स्पेसिफिकेसन (आइएसओ) अनुसार सडक बत्तीहरु÷बल्बहरु खरिद तथा जडान कार्य गर्न गराउन हुन आदेशानुसार अनुरोध गरिन्छ’ यहि ७ गते धनगढी उपमहानगरपालिकाले १९ वटै वडालाई निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीद्धारा हष्ताक्षरित लेखिएको पत्रको व्यहोरा हो यो ।  तर, धनगढी उपमहानगरपालिकाका १९ वडाका वडा कार्यालयहरुको अहिलेसम्म खाता सञ्चालन नहुँदा आवश्यक योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा छैनन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाहीले भने –‘वडाका विभिन्न समस्या तथा गुनासोहरु आइरहेका छन् । उनीहरुका काम अघि बढाउने तयारी गर्दा उपमहानगरपालिकाले खाता सञ्चालन गर्न सकेको छैन् ।’ उनले उपमहानगरपालिकाबाट वडाको खाता सञ्चालन नगर्दा वडाबासीहरु आफुसंग रुष्ट भइरहेको बताए ।

वडामा अहिले खाता सञ्चालन नभएपछि वडा कार्यालयका वडा अध्यक्षहरुले पञ्जीकरण, घरनक्सा सिफारिस, नाता प्रमाणित सिफारिस लगायतका कार्यमात्र गर्नुपरिरहेको वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले बताए ।