फस्टाउँदै ब्लक इट्टा प्रविधि, समस्यामा चिम्नी र भुँसा इट्टा व्यवसायी

फस्टाउँदै ब्लक इट्टा प्रविधि, समस्यामा चिम्नी र भुँसा इट्टा व्यवसायी

धनगढी । पूर्वाधार विकासमा नयाँ प्रविधिको प्रयोगसंगै चिम्नी तथा भुँसा इट्टा व्यवसायीहरु विस्थापित हुनु्पर्ने अवस्था आएको छ । सरकारी ठेक्का तथा घर निर्माणमा नयाँ प्रविधिको प्रयोग बढेसंगै इट्टा व्यवसायी धरापमा परिरहेको जनाइएको हो । 

‘अर्डीनरी पोर्टल्याण्ड सिमेन्ट (ओपिडी), पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (पिपिसी), पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पिएससी) लगायतको प्रयोग बढेसंगै इट्टा व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको इट्टा व्यवसायी दिपेन्द्र श्रेष्ठले बताए ।

उनी भन्छन् –‘अहिले सरकारले निर्माण गर्ने नाला पनि नयाँ प्रविधिको प्रयोग भइरहेको छ । विगतमा नाला निर्माण गर्दा इट्टा प्रयोग हुन्थ्यो तर, अहिले प्रयोग भइरहेको छैन् ।’

इट्टा उत्पादन समय सुरु भइसक्दा समेत माग नभएपछि व्यवसायीहरु भन्छन् –‘अहिले हामीले आफनो व्यवसायी टिकाउनमै केन्द्रित छौं ।’ 

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा ९० बढि इट्टा उद्योग छन् । प्रायः हरेक वर्ष वर्षायाम सकिएपछि इट्टा उत्पादन शुरु हुने गर्दछ । अहिले चारदेखि आठ इट्टा व्यवसाय बन्द अवस्थामा छन् भने अधिकाँसले न्यूनमात्रामा उत्पादन गरेका छन् । ‘विगतमा म पाँच लाख इट्टा उत्पादन गर्थे । सबै विक्री हुन्थ्यो’ उनले भने –‘तर, पछिल्लो वर्ष त्यसको आधा मात्रा विक्री भयो ।’

सुदूरपश्चिम इट्टा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले भने– ‘नयाँ प्रविधिको प्रयोग, हिउदे तथा मंसिर पुसको वर्षा लगायतका कारण इट्टा व्यवसायी समस्यामा रहेका छन ।’ उनले स्थानीय तह, प्रदेश तथा संघिय सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुभन्दा विदेशी प्रविधिलाई प्राथमिकता दिँदा इट्टा व्यवसायीहरुले जिविकोपार्जनका लागि नयाँ व्यवसायी रोज्नुपर्ने अवस्था आएको बताए ।

‘सरकारले निर्माण गर्ने भवन, नाला तथा पुलमा नयाँ प्रविधि प्रयोग भइरहेको छ’ उनले भने –‘स्थानीय उत्पादनलाई विस्थापन गर्ने नीतिनै सरकारले लिइरहेको जस्तो लागिरहेको छ ।’

उनले वार्षिक इट्टा व्यवसायीले करिब २० करोड रुपैया बढिको नोक्सान व्यहोर्नु पर्ने अवस्था रहेको बताए । उनले असोजदेखि मंसिरसम्म काचो इट्टा बनाउने र सुकाउने कार्य हुने र पुस र माघमा पोल्ने तथा बजारमा पु¥याउने काम हुने बताए । 

धनगढी उपमहानगरपालिकाले निर्माणाधिन नयाँ सडकमा नाला निर्माण, हुलाकी सडकको नाला निर्माण गर्दा इट्टा प्रयोग नहुनु, कृषि चिस्यान केन्द्र नयाँ प्रविधिबाट निर्माण हुनु लगायतका कारण इट्टा व्यवसायीहरुका इट्टा विक्रीमा समस्या देखिएको उनको भनाई छ ।

ब्लक इट्टा प्रयोग बढ्दै

सरकारले निर्माण गरिरहेका सडक तथा सरकारी परिषरमा ब्लक प्रविधि फस्टाउँदै गएको छ । विगतमा सडकका फुटपाथ तथा नाली निर्माण गर्दा इट्टा प्रयोग हुँदै आएको थियो । अहिले फुटपाथ तथा सरकारी परिषरमा ब्लक प्रविधि प्रयोग बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।

खप्तड युपिभिसी झ्याल ढोका उद्योग तथा ब्लक उद्योगका सञ्चालक कमल सिंहले भने –‘अहिले पूर्वाधार विकासमा ब्लकको माग बढ्दै गएको छ ।’ उनका अनुसार विगतमा इट्टा प्रयोग भइरहेको क्षेत्रमा ब्लकको माग भइरहेको छ ।

उनले वार्षिक पाँच लाख ब्लक उत्पादन हुने गरेकोमा सबै विक्री हुने गरेको बताए । उनले भने –‘माग अनुसारनै उत्पादन भइरहेको छ । कच्चा पदार्थ स्वदेशीनै हुन् । ढुङ्गा, बालुवा र सिमेन्टको प्रयोग गरि ब्लक बनाइन्छ ।’ स्थानीय कच्चा पदार्थ प्रयोग गरि बनाइएकोले पनि लगानी डुब्ने समस्या नरहेको उनको भनाई छ । उनले भने –‘बाहिरबाट आयात गरि व्यवसायी सञ्चालन गर्नेहरु अहिलेको आर्थिक मन्दीमा समस्यामा छन् । मैले त्यो समस्या भएको छैन् । तर, सरकारी निर्माणको ठेक्का लिएका व्यवसायीहरुले समयमै भुक्तानी नदिएपछि समस्या हुन सक्छ । अहिलेसम्म त्यो व्यहोर्नु परेको छैन् ।’ 

उनका अनुसार ब्लक इट्टा ८० देखि एक सय २० स्क्वायर फिटका उत्पादन हुने गर्दछन् । प्रति ब्लक इट्टा १५ देखि २५ रुपैयाँका दरमा विक्री हुने गरेको उनको भनाई छ ।