आयुक्त चन्दको धम्की दिँदै छोरीद्वारा अर्काको घरमा तोडफोड

आयुक्त चन्दको धम्की दिँदै छोरीद्वारा अर्काको घरमा तोडफोड

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले एक घरमा तोडफोड गरेकी छन् । बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले तोडफोड गरेको हो ।

आइतबार साँझ बालुवाटारमा रहेको आफ्नो घरमा सुप्रभा चन्दसहितको समूह गएर तोडफोड गरेको पीडित मनिषा बास्कोटाले बताइन् । नाताले छोरीकी जेठानी पर्ने सुप्रभा चन्दसहितको समूह आफूहरु घरमा नभएको समयमा प्रवेश गरी तोडफोड गरेको मनिषाको भनाइ छ ।

मनिषाका अनुसार सुप्रभा अख्तियारका आयुक्त जयबहादुर चन्दकी छोरी हुन् । बुबा अख्तियारको आयुक्त भएको धम्की र पावर देखाउँदै आफूहरुको घरमा आएर तोडफोड गरिएको मनिषाले सुनाइन् । प्रहरीले पक्राउ गर्न खोज्दासमेत सुप्रभाले आयुक्तकी छोरी हुँ भन्दै धम्की दिएपछि प्रहरी फर्किएको मनिषाले बताइन् ।

आइतबार ज्वाइँ सुमेर राणा, छोरीकी सासु, छोरीका जेठाजु उज्ज्वल राणा र छोरीकी जेठानी दिदीसमेत रहेकी सुप्रभा चन्दले आफ्नो घरमा प्रवेश गरी गमलाहरु फुटाएको, ढोकाको लक तोडेर भित्र प्रवेश गरेको र बगैंचामा फूलहरु समेत भाँच्ने र काट्ने गरेको मनिषाले बताइन् ।

आफूहरु नभएको समयमा घरमा प्रवेश गरी तोडफोड गरेपछि पीडित मनिषा बास्कोटाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त मालीगाउँमा शान्ति सुरक्षा र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै निवेदन दिइएको बताइन् ।

यस सम्बन्धमा बुझ्न मोबाइलमा सम्पर्क गर्दा सुप्रभा चन्दले कुनै रेस्पोन्स गरिनन् । सो सम्बन्धमा सुमेर राणाकी आमा किशोरी राणालाई सम्पर्क गर्दा सुरुमै त्यहाँ नगएको दाबी गरिन् । उनले भनिन्, ‘को गएको भन्ने थाहा भएन ।’

पछि ‘तपाईंहरु जानुभएको रहेछ, कुरा के हो रु’भनी सोध्दा उनले भनिन्, ‘पहिले त्यही मनिषाले हामीलाई बोलाएको हो, पछि हामी जाँदा उनीहरु त्यहाँ थिएनन् । त्यसकी छोरी र हाम्री बुहारी भनाउँदीलाई उनीहरुले कहाँ लुकाए भनेर त्यसैलाई सोध्नुहोस् न ।’

यत्ति भनेर उनले फोन काटिन् ।

प्रहरी भन्छ– पारिवारिक विवाद हो

यता प्रहरीले भने दुई परिवारबिचको विवाद भएकाले तत्कालै कुनै कारबाही प्रक्रिया अगाडि नबढेको र उजुरी आएमा कारबाही गर्ने बताएको छ । प्रहरी वृत्त मालीगाउँका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार मंगलबार अपराह्न ३ बजेसम्म कुनै उजुरी आएको छैन । उजुरी आएमा छानबिन गरी कारबाही गरिने उनले बताए ।

डीएसपी सुवेदीका अनुसार मनिषाको छोरी र सुप्रभाको देवरबिच एक वर्ष अगाडि मात्रै विवाह भएको थियो । तर छोरीमाथि हेला भएको र बन्दी बनाएर राखिएको भन्दै मनिषाको परिवारले छोरीलाई उनको घरबाट ल्याई अमेरिका पठाएका थिए । त्यसपछि उनीहरु झगडा र तोडफोड गर्न मनिषाको घरमा पुगेका थिए ।