कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार

कृषिजन्य उत्पादनको बजारीकरण गर्दै हाटबजार

कञ्चनपुर । बेलौरी नगरपालिका–३ का समिर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् । 

हप्ताको प्रत्येक शनिबार बेलौरी(८ कलकत्तामा हाटबजार लाग्ने गरेको छ । त्यही बजारमा चौधरीले च्याउ, काउली, गोलभेडा, आलु, खुर्सानी, सिमला मिर्चा, भण्टा, प्याजलगायत बेच्छन् । तीन हप्ता देखि उनले निरन्तर रुपमा हाटबजारमा पुगेर तरकारी बेच्दै आएका छन । ‘काउली मात्रै प्रति हप्ता दुईदेखि तीन कुन्टल बिक्री हुने गरेको छ’ उनले भने, ‘तीन किलो काउली सयमा बिक्री गरि रहेका छौँ ।’ अन्य तरकारी ५० देखि सय प्रति किलोका दरले बिक्री हुने गरेको उनको भनाई रहेको छ । 

‘हाटबजार सञ्चालन नहुदा साईकलमा गाउँ(गाउँ पुर्याएर तरकारी बेच्दा निकै श्रम गर्नुपर्ने अबस्था थियो,’ उनले भने, ‘दिनभरी साईकल डुलाउदा तरकारी बिक्री नभए निकै निराश हुनुपर्ने अबस्था थियो, हाल हप्ताको एक दिन लाग्ने हाटबजारमा तरकारी हातो हात बिक्री हुन्छ, बाँकी अरु दिन थोक व्यापारीलाई तरकारी बेच्छौँ ।’ हाटबजारमा तरकारी बेच्दै आएका राजेश केसी हाटबजार सञ्चालनमा आएपछि किसानलाई बारीमा उत्पादित तरकारीका लागि बजार खोज्दै हिडनुपर्ने अबस्थाको अन्त्य भएको बताए।

महिनामा तीन, चार दिन हाटबजार लाग्ने भएकाले किसानको तरकारी महेन्द्रनगर, धनगढीलगायत बजारबाट आएका व्यापारीले खरिद गरी लग्ने गरेको उनले बताए । केसी जस्तै हाटबजारमा अनिल चौधरीले आफ्नै फर्ममा पालेका बंगुर र कुखुराको मासु बिक्री गर्दै आएका छन । हाटबजारमा लाग्ने दिन उनले ५० देखि ८० किलोसम्म बंगुरको मासु तीन सय ८० का दरले बिक्री गर्छन् ।

कुखुराको मासु भने २० देखि २५ किलो सम्म तीन सय ४० का दरले बिक्री हुन्छ । ‘हाटबजारमा बंगुर र कुखुराको मासु बिक्री हुन थालेपछि ग्राहक नपाउदा विगतको जस्तो भौतारीदै हिड्नु परेको छैन’ उनले भने, ‘हाटबजार नभएका बेला गाउँमै सञ्चालित पसलबाट मासु बिक्री गर्दै आएका छौँ ।’ हाटबजारमा चिनजान भएका व्यापारीले फार्मबाटै कुखुरा र बंगुर खरिद गर्न पनि आउन थालेको उनको भनाइ रहेको छ । 

हाटबजारमा ७५ पसल सञ्चालका लागि प्रदर्शनी कक्षको व्यवस्था गरिएको छ । यसमा हाल तरकारीका १०, कपडा ३०, मासु सात, मिठाइलगायत खाद्य परिकारका सात वटा गरी ५४ वटा पसल सञ्चालनमा रहेको छ । गत वर्षको दशैँ अघिदेखि हाटबजार सञ्चालमा ल्याईएको हो । त्यसपछि हाटबजार निरन्तररुपमा सञ्चालन हुँदै आएको छ । हाटबजार सञ्चालनका लागि स्थानीय कोपिला चौधरीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । 

पहिलो पटक हाटबजार आब ०६०–६१ मा सञ्चालन गरिएको हो । केही वर्ष सञ्चालनपछि बन्द भयो । त्यसपछि वि.सं.२०७३ सालमा पुनः सञ्चालनमा ल्याईयो । ‘हाटबजार सञ्चालनका लागि प्रकृया अगाडी बढाउदा बढाउदै कोरोना महामारी आयो, सञ्चालन गर्न सकेनौँ,’ अध्यक्ष चौधरीले भने, ‘त्यस पछि गत वर्षको असोज १२ गतेदेखि निरन्तर हाटबजार सञ्चालन हुँदै आएको छ ।’ तीन महिना सम्म हाटबजारमा आउने किसानलाई निः शुल्क स्टलमा सामान राखेर बेच्ने दिने व्यवस्था गरिएको उनले बताए।

उनका अनुसार गत वर्षको माघदेखि प्रदर्शनी कक्षमा कृषिजन्य, मासुजन्य र अन्य पसल सञ्चालन गर्ने व्यवसायीबाट ५० शुःल्क लिन थालिएको छ । चना चटपटे, चाटलगायतका स(साना पसलबाट ३० र टोकरीमा सामान ल्याएर बेच्ने किसानलाई निः शुल्क बेच्न दिने व्यवस्था गरिएको छ । हाटबजार व्यवस्थापन गर्नका लागि नगरपालिकाले चार लाख अनुदान रकम प्रदान गरेकोमा जसबाट तारजाली राख्ने, गेट निर्माण, पानीको धारा र विद्युतको व्यवस्था मिलाईएको अध्यक्ष चौधरीको भनाई छ । 

हाटबजारमा प्रत्येक हप्ता पाँचदेखि सात लाखसम्मको कृषिजन्य बस्तुको खरिद बिक्रीको हुने गरेको छ । ‘हाटबजारमा विशेष गरी स्थानिय किसान र स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर बेच्न दिने गरेका छौँ,’ उनले भने, ‘जसबाट स्थानिय उत्पादनको बजारीकरणमा टेवा पुगेको छ ।’ हाटबजारमा स्थानिय कृषि उत्पादन ल्याएर बिक्री गर्न आउने किसानको सङ्ख्या बढदै गएकाले स्टलको कमी, धारा, सौचालयको अभाव हुन थालेको उनको भनाइ छ । 

हाटबजारमा सामान बेच्न आउने र खरिद गर्न आउने व्यक्तिहरुका सवारी र ढुवानीका सधन पार्किङ गर्नका लागि ठाउको अभाव रहेको छ । हाटबजार अढाई कठ्ठा जग्गामा सञ्चालन हुदै आएको छ । हाटबजार सञ्चालन भएपछि व्यवसायीक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढदै जान थालेको छ । 

‘व्यवसायीक कृषि छाडेका किसान पुनः पुरानै तरिकाले खेती गर्न थालेका छन’ नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक हरिश सेठीले भने, ‘नगरपालिका क्षेत्रबाट दैनिक दुईदेखि तीन मिनी ट्रक तरकारी कैलालीको धनगढी तर्फ निर्यात हुन थालेको छ ।’ हाटबजारमा व्यापारीले आएर किसान संग कुरा गरी तरकारी खरिद गरेर लैजाने गरेको उनको भनाइ छ । 

स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुरयाएकाले केही महिना भित्रै नगरपालिकाको वडा नम्बर २ र ४ मा थप हाटबजार सञ्चालन ल्याउनका लागि संभाव्यता अध्ययन  भैरहेको उनले जानकारी दिए । ‘पहिले पनि नगरपालिका क्षेत्रमा तीन हाटबजार सञ्चालनमा थिए’ उनले भने, ‘दुई बन्द भए हाल एक मात्रै सञ्चालनमा छ ।’ नगरपालिकामा वडा नम्बर ३ र ५ मा तरकारी बिक्रीका लागि सङ्कलन केन्द्र सञ्चालित छन ।