मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटायो

मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को सफल क्लब मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएको छ।

क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेको हो। उसले क्बलको कप्तानीको जिम्मेवारी स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई सुम्पिएको छ।

मुम्बई इन्डियन्सका विश्वव्यापी प्रदर्शन प्रमुख महेला जयवर्धनेले यो परिवर्तनलाई ‘विरासत निर्माण र भविष्यको लागि तयार रहने मुम्बई इन्डियन्सको दर्शनको हिस्सा’ बताएका छन्।

उनले रोहित शर्माको असाधारण नेतृत्वका लागि आभारसमेत व्यक्त गरेका छन्।

क्लबबाट अब रोहितले खेलाडीको रूपमा मात्र खेल्नेछन्। रोहितले २०१३ देखि २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए।

रोहितको कप्तानीमा मुम्बईले पाँच पटक (२०१३, २०१५, २०१७, २०१९ र २०२०) मा उपाधि जितेको थियो। चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनीले पनि पाँच उपाधि जिताएका छन्।

हार्दिकले २०१५ मा मुम्बईको लागि डेब्यू गरेका थिए। मुम्बईलाई चार उपाधि दिलाउन हार्दिकको महत्वपूर्ण भूमिका थियो।

२०२२ को मेघा अक्सनमा मुम्बईले सबैलाई आश्चर्य पार्दै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो। २०२२ मा गुजरात टाइटन्सबाट कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए।

गत वर्ष उनको कप्तानीमा गुजरात फाइनलमा चेन्नईमा पराजित भएको थियो। दुई सिजन गुजरातमा बसेपछि पुन आफ्नो पुरानो टोलीमा फर्किएका हुन्।