स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्यचौकीमा वडा कार्यालयले आयोजना गरेको हो । 

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाबिन्दु देखिएको छ । उनले भने ‘मोतियाबिन्दु देखिएकालाई निः शुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।’

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र श्वासप्रश्वाससम्बन्धी ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा.गणेश फुलारा, डा.अनिल खड्का, डा.पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा वडा नम्बर १० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । ‘जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनका लागि शिविर सञ्चालन गरिएको हो’, उनले भने–‘आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।’