चीनमा भूकम्प : एक सय ११ जनाको मृत्यु, २ सय बढी घाइते

चीनमा भूकम्प : एक सय ११ जनाको मृत्यु, २ सय बढी घाइते

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ। भूकम्पबाट २०० भन्दा बढी घाइते भएका बताइएको छ। 

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११:५९ बजेतिर ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।  

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ। 

भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ। 

रेलवे प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र भएर चल्ने मालवाहक तथा यात्रुवाहक रेलहरु सञ्चालनमा रोक लगाएको छ। रेलवे लिकको जाँच गर्न थालिएको समाचारमा बताइएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा तापक्रम घट्दो क्रममा रहेका कारण जनजीवन झन् प्रभावित भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको खोज तथा उद्धार, राहत र घाइतेहरुको उपचारमा सम्पूर्ण शक्ति परिचालन गर्ने निर्देशन दिएका थिए।