खुल्लामञ्चमा ‘महाजात्रा’को इन्डक्ल्याप, अरुण र आश्माको धमकेदार डान्स

खुल्लामञ्चमा ‘महाजात्रा’को इन्डक्ल्याप, अरुण र आश्माको धमकेदार डान्स

निर्देशक प्रदीप भट्टराईले ५ साता लगाएर फिल्म ‘महाजात्रा’को छायांकन सक्ने तयारी गरेका छन् । यो फिल्मको भोलि काठमाडौंको खुल्लामञ्चमा इन्डक्ल्याप हुनेछ । सोमबारदेखि खुल्लामञ्चमा एउटा गीत र क्लाइमेक्सको दृश्यको छायांकन भइरहेको छ । 

मंगलबार मेरो फिल्मको टिम खुलामञ्च पुग्दा ‘हाम्रो जोडी त’ बोलको गीतमा अतिथि कलाकार अरुण क्षेत्री र आश्मा विश्वकर्मा नृत्य गरिरहेका थिए ।

आश्मा र अरुणलाई दर्शकले यो गीतमा मात्र देख्न पाउनेछन् । कोरियोग्राफर कविराज गहतराजलाई भ्याई नभ्याई थियो । डीओपी पुरुषोत्तम प्रधान पनि क्यामेरामा उत्कृष्ट दृश्य कैद गर्न लागिपरेका थिए । 

गीतको भिडियोमा आश्मा र अरुण मात्र नभएर फिल्मका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँले पनि नृत्य गरे । 


फिल्ममा र युट्युबमा यो गीतलाई फरक–फरक तरिकाले प्रस्तुत गर्ने तयारी निर्माणपक्षको छ । 

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले ५ साता लामो छायांकन रमाइलो तरिकाले सकिएको बताए । उनले, यसपटक दर्शकले ‘जात्रा र जात्रै जात्रा’ भन्दा अझै उत्कृष्ट कथामा फिल्म हेर्न पाउने तर्क गरे । 

फिल्मका निर्देशक प्रदीप भट्टराईले पनि छायांकन सकिएको पत्तो नै नभएको बताए । उनले, यसपटक सिंगो टिमले नै फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै खुशी व्यक्त गरे । 

फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत र रवीन्द्र झाले पनि यसपटक फिल्म विशेष बनेको बताए । विपिनले भने–‘अघिल्ला दुई सिक्वेल भन्दा विशेष छ । यसैले त, फिल्मको नाम नै महाजात्रा छ ।’

नायिका वर्षा राउतले पनि फिल्म विशेष बनेको भन्दै उत्साह व्यक्त गरिन् ।

फिल्म ‘महाजात्रा’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।