जाडो बढ्यो: न्यायो रहन आगो, हीटर कि घाम ?

जाडो बढ्यो: न्यायो रहन आगो, हीटर कि घाम ?

काठमाडौं । अहिले हामी मध्य जाडोमा छौं । बढ्दो जाडोसंगै हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुन थालेको छ भने तराईमा हुस्सु तथा कुहिरोसंगै शितलहरको प्रकोपसमेत प्रारम्भ हुन थालेको छ ।

तराईमा हुने शितलहरको चिसोबाट बच्नका लागि मानिसहरु दिनरात आगो ताप्छन् । यसरी लामो समय आगो ताप्नु स्वास्थ्यका लागि कत्तिको सही हो ?

जाडो मौसममा घाम लागेको बेला अधिकांश मानिसहरु लामो समयसम्म घाममा बसिरहन मन पराउँछन् । यद्यपि, जाडोमा कति समयसम्म घाम ताप्नु उचित हो ?

जाडोबाट बच्न आगो ताप्नु अथवा घाम ताप्नु कत्तिको सही हो र कहिले, कुन समयमा यो कार्य गर्नु सही हो ? यस बारेमा हामीले केही जानकारी संकलन गरेका छौं :

आगो ताप्नु

चिसोमा लामो समयसम्म अथवा दिनहुँ आगो ताप्नु हुन्छ भने यो तपाईँका लागि हानिकारक हुनसक्छ । किनभने आगोबाट निस्कने धुवाँले शरीरको कार्बन डाइअक्साइडको स्तर बढाएर अक्सीजनको स्तर कम गर्छ । जसले गर्दा शरीरमा रक्त कोशिकाको संख्या कम हुन्छ । यसो भयो भने विभिन्न रोग उत्पन्न हुन्छ । यसबाट आँखालाई नोक्सान पुग्छ, टाउको दुख्ने समस्या हुन्छ, फोक्सो सम्बन्धि रोग लाग्न सक्छ, छाला सम्बन्धि समस्या हुनसक्छ ।

एग्जिमा र सोराइसिसबाट पीडित मानिसले त आगो ताप्नबाट बच्नु पर्छ । त्यसैले आवश्यकताभन्दा बढी आगो ताप्नु राम्रो होइन । यदि ताप्नु नै परेमा कोइलाको प्रयोग गर्नु पर्छ, जसबाट धुँवा धेरै निस्कँदैन । जाडोबाट बच्नका लागि धेरै मानिस कोठामा आगो बालेर छाडिदिन्छन्, जुन जीवनका लागिसमेत खतरनाक हुन्छ ।

घाम ताप्नु

घाममा बस्ने अथवा ताप्ने पनि नियम हुन्छ । जुनसुकै मौसममा बिहान आठ बजेदेखि ११ बजेसम्म घाममा बस्दा शरीर तातो हुनुका साथै शरीरमा भिटामिन डीको पनि पूर्ति हुन्छ । त्यसपछि ११ बजेपछिको घाम ताप्नुको कुनै अर्थ रहँदैन । १२ बजे पछिको घाममा यूभी–सी अल्ट्रा भाइलेट किरणको प्रकोप बढ्छ, जुन शरीरका लागि नोक्सानदायक हुन्छ ।

घाम ताप्नाले हाम्रो रक्त सञ्चार राम्रोसंग सञ्चालित हुन्छ, जसले चिसोमा रगत जम्ने खतरालाई कम गर्छ । घाम ताप्नाले शरीरमा कुनै पनि प्रकारको फंगल इंफेक्शनलाई पनि रोक्न सकिन्छ । त्यसैले गर्मीमा २० देखि २५ मिनेट र जाडोमा दुई घण्टा घाम ताप्नु फाइदाजनक हुन्छ ।

रुम हीटर

रुम हीटरको अत्यधिक प्रयोगले मानिसले निस्सासिएको अनुभव गर्न सक्छ, किनभने यसले हावामा भएको अक्सिजनलाई कम गर्छ । त्यस्तै रुम हीटरले कार्बन मोनोअक्साइड जस्तो ग्यासको खतरा बढाउँछ । त्यसैले चिसोमा रुम हीटर बढी प्रयोग गर्नु हुँदैन । धेरै मानिस कोठामा हिटर खुल्ला राखेर छाडिदिन्छन् र सुत्छन् । यसो गर्दा निद्रामा कुन समयमा शरीरमा अक्सिजनको स्तर कम हुन्छ थाहा हुँदैन । यसो हुँदा निस्सासिएर मृत्युसमेत हुन सक्छ । हीटरले छाला, कपाल र आँखालाई सुख्खा बनाएर नोक्सान पुर्याउँछ । हीटर ताप्दा प्रतिरोधक क्षमता पनि कमजोर हुन्छ ।