हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते, १ सय ८५ घरमा क्षति

हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते, १ सय ८५ घरमा क्षति

कञ्चनपुर : बिहीबार साँझ आएको हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते भएका छन् । हावाहुरीका कारण सबैभन्दा बढी भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, घाइते मध्ये सात जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ भने बाँकी घाइते उपचारपछि घर फर्किएका छन् । हावाहुरीका कारण एक सय ८५ वटा घर भत्किएका छन् भने दुई वटा विद्यालयमा क्षति पुगेको छ ।

हावाहुरीबाट भएको क्षतिको तथ्यांक संकलनको काम भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार, मानवीय क्षति नभए पनि हावाहुरीले खर तथा जस्ताका छाना भएका अधिकांश घरका छाना उडाएको छ ।

हावाहुरीका कारण घर भत्किँदा बेदकोट नगरपालिकामा एकै परिवारका पाँच जना घाइते भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताउनुभयो । उहाँले नगरपालिका र प्रहरीको टोलीले क्षतिको तथ्यांक संकलनपछि प्रभावित परिवारका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

बिहीबार साँझ आएको भीषण हावाहुरीको कारण रुख तथा पोल ढलेपछि विद्युत सेवा र इन्टरनेट सेवा पनि अबरुद्ध भएको छ । त्यस्तै हावाहुरीबाट कुखुरा फार्म र किसानले लगाएको बालीनालीमा समेत नोक्सान भएको छ ।