सन् २०२३ मा विश्व ‘ब्युटी पेजेन्ट’को सन्देश- नेपाल ‘पावर हाउस’ बन्न सक्छ

सन् २०२३ मा विश्व ‘ब्युटी पेजेन्ट’को सन्देश- नेपाल ‘पावर हाउस’ बन्न सक्छ

काठमाडौं । दीपिका जेन गारेट नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा स्मरणीय रहनेछिन् । सम्भवतः उनको जस्तो चर्चा यसअघि विश्व मिडियामा कुनै नेपाली ‘ब्युटी क्वीन’को भएको थिएन ।

यस हिसाबले सन् २०२३ दीपिकाको ‘मिस युनिभर्स’को मिडिया दबदबाको हिसाबले सम्झन योग्य हुनेछ ।

संसारका ठूला मिडियाले दीपिकामाथि ‘हेडलाइन’ लेखे- सौन्दर्य मापदण्डका परम्परागत मान्यतालाई भत्काउँदै उनी मिस युनिभर्समा सहभागि हुने प्लस साइज मोडल बनिन् ।’ एल साल्भाडोरका राष्ट्रपतिले त उनलाई भेटेरै बधाई दिए ।

सौन्दर्यको परम्परागत मूल्यलाई चुनौति दिएर जसरी उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चम्कन सकिन्, यसले नेपाली ब्युटी पेजेन्टलाई नयाँ आयाम दिएको अर्थमा बुझ्न सकिन्छ ।

अहिलेसम्म नेपाली ब्युटी पेजेन्टको इतिहास अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुनुमा मात्र सीमित थियो, कम्तीमा गारेटले त्यो परम्परा तोडिन् । कुनै विधा नजितेपनि उनको चर्चा उपाधि विजेताको भन्दा कम रहेन । गारेट अन्तिम २० मा समावेश हुन सफल रहिन् ।

यी त भए मिस युनिभर्सको कुरा । विश्वका पाँच ठूला सौन्दर्य प्रतियोगितामा मिस वर्ल्डपछि मिस युनिभर्सको चर्चा हुन्छ । मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनललाई महत्वका साथ लिइन्छ । यी पाँच ब्युटी पेजेन्ट वरपर विश्व ब्युटी पेजेन्टले फन्को मारेको देखिन्छ ।

मिस इन्टरनेसनलमा प्रसिद्धी शाह
सन् २०२३ मा मिस नेपाल इन्टरनेसनल प्रसिद्धी शाहले सहभागिता जनाइन् । अक्टोबर २६ मा टोकियोमा सम्पन्न मिस इन्टरनेसनलमा प्रसिद्धीले उपाधि त जितिनन् तर, उनको चर्चा राम्रै रह्यो ।

उनले त्यहाँ पेश गरेको नेसनल कस्ट्युमलाई अक्सनमा बिक्रीका लागि राखियो । यो पक्ष नेपालका लागि सकारात्मक कुरा हो । भेनेजुएलाकी आन्द्रेय रुबियोले यसवर्षको मिस इन्टरनेसनलको उपाधि जितिन् ।

अर्को महत्वपूर्ण सौन्दर्य प्रतियोगिता मिस अर्थ यसैसाता भियतनाममा सम्पन्न भयो । मिस नेपाल अर्थ रेना मजगैयाँले नेपालको वातावरणीय संकटको मुद्दालाई स्टेजमा प्रस्तुत गरिन् ।

पिपलको रुख झल्काउने नेसनल कस्ट्युम लगाएर उनले वातावरण संरक्षणको सन्देश दिइन् । तर, प्रतिस्पर्धामा उनी अन्तिम २० मा पनि सामेल हुन सकिनन् । मिस ग्ल्यामको प्रतिस्पर्धामा भने उनी छनोट हुन सकिन् ।

मिस वर्ल्ड एकवर्षदेखि आयोजना हुन सकेको छैन जसले गर्दा लाइनअप प्रभावित बनेको छ । मिस वर्ल्ड  २०२३ भारतमा आयोजना हुने भनिएपनि मिति यकिन छैन । दुईपटक स्थगन भएकाले अझै अन्योल छ । अब हुने मिस वर्ल्डमा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले भाग लिँदैछिन् । यो सेड्युलअनुसार मिस नेपाल सृच्छा प्रधानको सहभागिता २०२४ को प्रतियोगितामा मात्र हुने देखिन्छ ।


मिस अर्थमा रेना मजगैयाँ
मिस वर्ल्ड अब २०२३ मा नहुने पक्का भैसक्यो । २०२४ मा दिल्लीमा हुने सम्भावना रहेको यो प्रतिस्पर्धाको लागि जोशीले आफूलाई तयार गरिरहेकी छन् । नेपाल विश्व सुन्दरी प्रतियोगितामा ब्युटी विथ पर्पस विधामा दाबेदार हो । यसअघि यो विधामा नेपालले जित हात पारिसकेको छ ।

दक्षिण अमेरिकी मुलुकहरु भेनेजुएला, पाराग्वे, चिली, ब्राजिल तथा एसियाली मुलुकहरु थाइल्याण्ड, भियतनाम, फिलिपिन्स पहिल्यैदेखि नै सौन्दर्य प्रतियोगिताका ‘पावरहाउस’ बनेका छन् । नेपालले पनि आफूलाई ‘ब्युटी पेजेन्ट’को पावरहाउस बनाउन ढिलाइ गर्नुहुँदैन ।