‘जवान’ अभिनेता सांगेले प्रदीप खड्काको फिल्म ‘ऐरी’ खेल्न लागेका हुन् ?

‘जवान’ अभिनेता सांगेले प्रदीप खड्काको फिल्म ‘ऐरी’ खेल्न लागेका हुन् ?

काठमाडौं । भुटानी अभिनेता सांगे सेल्ट्रिमले शाहरुख खान स्टारर फिल्म ‘जवान’मा आफ्नो अभिनयले चर्चा पाए । यो फिल्ममा उनले जुजु नामक एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् ।

‘जवान’मा उनको एक्सन दृश्यको पनि निकै चर्चा भएको थियो । शाहरुखसँग उनको स्क्रिन केमेस्ट्री पनि रोचक देखिन्छ । पूर्वसैनिक समेत रहेका सांगे पछिल्लो समय अभिनयमा जमिरहेका छन् ।

यसैसाता सांगेले नेपाली अभिनेता प्रदीप खड्कासँगको एक तस्वीर सेयर गरे जसमा उनी पनि छन् । खड्काले अभिनय गर्न लागेको आगामी हिन्दी फिल्म ‘ऐरी’को निर्माता लगायतको टिम पनि उक्त तस्वीरमा देख्न सकिन्छ ।

‘ऐरी’ टिमसँग अभिनेता सांगेको भेटघाट मुम्बईमा भएको देखिन्छ । नेपाली र बलिउडबीचको सहकार्यमा बन्न लागेको फिल्म भन्दै उनले प्रदीपलाई प्रतिभावान् नेपाली अभिनेता भनेर प्रशंसा गरेका छन् । साथै, सांगेले निर्माता र निर्देशकको नाम पनि खुलाउँदै यो फिल्म सन् २०२४ मा रिलिज हुन लागेको उल्लेख गरेका छन् ।

सांगेको उक्त पोस्ट हेर्दा लाग्छ, ‘ऐरी’मा पनि उनको महत्वपूर्ण भूमिका हुन सक्छ । तर फिल्मको टिमले सांगेले अभिनय गर्न लागेको भन्नेबारे केही खुलाएको छैन ।