दयाहाङपछि ‘गाउँ नै रमाइलो’मा जोडिए आर्यन, दशैंमा रिलिजको लक्ष्य

दयाहाङपछि ‘गाउँ नै रमाइलो’मा जोडिए आर्यन, दशैंमा रिलिजको लक्ष्य

काठमाडौं । दिनेश राउतले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘गाउँ नै रमाइलो’मा अभिनेता आर्यन सिग्देल पनि अनुबन्धित भएका छन् । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर निर्माताले मंसिरमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका थिए ।

यो फिल्मलाई ‘नांगो गाउँ’ फेम्ड हिमाल कडरिया र दिलमाया बस्नेतले निर्माण गर्दैछन् । अभिनेत्रीमा मिरुना मगर जोडिने चर्चा छ तर यसबारे केही खुलाइएको छैन । निर्माताले कलाकारमा दयाहाङ र प्रेसा कार्कीको नाम राखेर निर्माण इजाजत लिएका थिए ।

राउतले ‘पूजार सार्की’को छायांकन सकेपछि यो फिल्मको सुटिङ थाल्ने जनाइएको छ । जेठदेखि छायांकन सुरु हुने यो फिल्मलाई पहाडी लोकेसनमा सुट गर्ने तयारी छ । पटकथाकारमा विकास सुवेदी छन् । एक करोड ३८ लाख रुपैयाँ बजेट तय गरिएको फिल्मको प्रदर्शन आउँदो दशैंमा गर्ने जनाइएको छ ।

दयाहाङ र आर्यनले दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि ‘मेरो एउटा साथी छ’मा सँगै काम गरेका थिए । क्लक–वर्क क्रियसनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

नेपाल वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन् । विदेश वितरणको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । कडरियाले ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।