माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बिहान साढे दुई बजेतिर  बम विस्फोट गरेको छ ।भाडामा लिएका सम्पर्क कार्यालयको घरको पूर्व तर्फको भित्तामा समूहले प्रेसर कुकर बम विस्फोट गराउँदा क्षति  भएको प्रहरीले जानकारी दिएको छ ।

तुर्माखाँद गाउँपालिका-३ असराघाटका दीपक बिसीको घरको शौचालयमा अज्ञात समूहले बम विस्फोटन गराउँदा टिनले बनेको शौचालयमा क्षति पुर्‍याएको छ । 'घरको पूर्वी भित्ताको भाग चर्केको र बिसीकै घरको बरण्डामा राखेको भे७प ९६९८ को मोटरसाइकलमा आगजनी गरिएको छ,' अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ।

बम विस्फोट भएको खबर पाउने वित्तिकै शाहीसहित ७ जनाको टोली घटनास्थल पुगेको थियो । विस्फोट गराउनेको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रहरी चौकी भैरवस्थान अछामबाट पैदल ४ घण्टा लाग्ने उक्त ठाउँमा बम विस्फोट गराउने समूहको खोजी कार्यका प्रहरी निरीक्षक जगत गाहा मगरको कमाण्डमा १५ जना , इलाका प्रहरी कमलबजार, विनायक, प्रहरी चौकी भैरवस्थान, अस्थाई प्रहरी पोष्ट तुर्माखाँद, बेलखेत अछाम समेतबाट २५ जनाको प्रहरी टोली तुर्माखाँद गाउँपालिकामा परिचालन गरिएको उनले बताए ।

घटनास्थलदेखि किलोमिटर पूर्व कर्णाली नदी पारी दैलेखको आठविस नगरपालिका-१ डावमा अपर कर्णाली हाईड्रोपावरको सुरक्षार्थका लागि सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा शसस्त्र प्रहरी बलको बेस क्याम्प समेत रहेको छ ।