नक्कली किसान छुट्ट्याउन गाह्रो छः मन्त्री चौधरी

नक्कली किसान छुट्ट्याउन गाह्रो छः मन्त्री चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली र नक्कली किसान  छुट्ट्याउन गाह्रो भएको बताएका छन । 

शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिसङ्गको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन । 

सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेश सभा सदस्य धर्म राज पाठकले सोधेको अनुदान बितरणमा खास किसान समेटिदैनन भन्ने गुनासो सधै भरी किन आइरहन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा भने ‘अनुगमन गर्न जाँदा कहाँ कहाँबाट बाख्रा खोजेर खोरमा राख्छ, कहाँ कहाँबाट भैंसी खोजेर गोठमा बाँध्छ, अनुदान लिइसकेपछि सबै खाली हुन्छ ।’ एउटै घरबाट पाँच वटा कृषि फार्म दर्ता भएको र फार्म फरक पारी एकै ब्यक्तिले हरेक बर्ष अनुदान लिइरहेको मन्त्री चौधरीले बताए । 

सामाजिक विकास समिति सङ्गको छलफलमा राज्यमन्त्री कैलाश चौधरीले एकै आर्थिक बर्षमा एकै ब्यक्तिले फरक फरक फर्म प्रयोग गरि तीन पटक सम्म अनुदान लिएको भेटिएको बताए । 

छलफलका क्रममा मन्त्री चौधरीले अनुदानमा भइरहेको दुरुपयोग रोक्न उत्पादनमा आधरित अनुदान दिने र किसान कार्ड लागु गर्ने सोचाइमा आफू रहेको बताए । शुक्रबार सामाजिक विकास समितिले भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री, राज्यमन्त्री र मन्त्रालयका सचिव डाक्टर मदन सिंह धामीलाई बोलाएर कृषि मन्त्रालयबाट सम्पादन भएका कामको प्रगति विवरणमाथि छलफल गरेको थियो । 

समितिका ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा भएको बैठकमा प्रदेश सभा सदस्य धर्म राज पाठक, प्रकाश बम, माया पन्त, तुल्सी देवकोटा र जानकी कुँवरले मन्त्री चौधरीलाई विभिन्न प्रश्न सोधेका थिए ।