माछापालनतर्फ किसानको आकर्षण बढ्दो

माछापालनतर्फ किसानको आकर्षण बढ्दो

गोदावरी । पछिल्लो समय सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ । 

सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताए । सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उहाँले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिए ।

सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० केजी उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताए। उनले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। 

माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत आवश्यक सामग्री नपाउने समस्या रहेको बताइएका छन् । माछा व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ थियो । कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिकटन माछा खपत हुने गरेको छ ।

केन्द्रका अनुसार प्रदेश भरी वार्षिक करिब १० हजार मेट्रिकटन खपत हुने गरेको छ । मत्स्यविकास केन्द्रका अनुसार दुई जिल्लामा गरी एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आइएको छ । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन् । 

कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिकटन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिकटन माछा उत्पादन हुने गरेको छ । केन्द्रका प्रमुख शाहीका अनुसार सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौँ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ । उनले पछिल्लो १० वर्षको अवधिमा सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको बताए। 

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा १० वर्षको अवधिमा आन्तरिक उत्पादन बढ्दै गएको जनाइएको छ । विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आइएको जनाउँदै मत्स्यविकास केन्द्रले पछिल्ला वर्षमा लक्ष्यभन्दा बढी परिमाणमा भुरा उत्पादन भइरहेको उल्लेख गरेको छ ।केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका माछाका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ ।