आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

यो वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आइतबार देखाइँदैछ । बेलुकी ५ बजे जावलाखेलमा राखिएको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनुहुनेछ ।

रातो मच्छेन्द्रनाथको रथ बिहीबार नै जावलाखेल पुर्‍याइएको हो । रथ जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । एकजना नेवार किसानले कर्कोटक देवतालाई सहयोग गरेवापत एउटा बहुमुल्य भोटो उपहार पाएका थिए ।

एकदिन जावलाखेलमा मच्छिन्द्रनाथको रथ यात्रा हेर्न जाँदा अर्कै ब्यक्तिले आफ्नो भोटो लगाएको देखेपछि किसान र ती ब्यक्तिबीच भोटोका विषयमा विवाद भयो । विवाद भएपछि स्थानीयबासिन्दाले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भोटो मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती रहेको छ । 

त्यसपछि, आजसम्म भोटोको वास्तविक मालिक कोही भए प्रमाणसहित लिन आउन आह्वान गर्दै प्रदर्शन गरिने चलन छ । भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई तानेरै ललितपुरको बुंगमतीमा पुर्‍याइन्छ । भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ ।