तीन दशकपछि उग्रतारा–मेलौली सडक कालोपत्रे हुँदै

तीन दशकपछि उग्रतारा–मेलौली सडक कालोपत्रे हुँदै

डडेल्धुरा : निर्माण सुरु गरेको ३ दशकपछि डडेल्धुराको उग्रतारा– मेलौली सडक कालोपत्रे सुरु भएको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्म ८ किमि सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराको कुल १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ । डीबीएस टी प्रविधिमा कालोपत्रे हुन लागेको सडकको चौडाइ पाँच मिटर हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए । 

चालू आवभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको कालोपत्रे गर्ने जिम्मेवारी पाएको राजेन्द्र केएस निर्माण सेवाका प्रोप्राइटर खडक पालले बताए । उनले भने, “यो मेरो जिल्लाको सडक भएकाले यसलाई समयमै सक्छु, यो गत वर्ष नै कालोपत्रे हुने सडक हो सरकारको उदासिनताका कारण यो लम्बिएको उनको तर्क छ । 

निर्धारत ८ किलोमिटर सडक कालोपत्रे भए अजयमेरु गाउँपालिका–१, २ का स्थानीय बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने भएको छ । प्रदेशअन्तर्गत नयाँ आवको अन्तिमतिर सम्पन्न हुने लागेका आयोजनामध्ये खानेपानीतर्फ एक सय २३ योजनाबाट ४८ हजार पाँच सय जनसंख्या लाभान्वित हुनेछन् ।

त्यसैगरी सिँचाइतर्फ एक सय ६१ योजनाको काम अन्तिम चरणमा छ । यस योजनाबाट २७ सय ३५ हेक्टर जमिनमा सिंचित हुनेछ । सडकअन्तर्गत कटिङ सडक २ सय २० किमिमध्ये ५२ किमि ग्राबेल र १५ किमि सडक कालोपत्रे भइरहेको भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले जानकारी दिए । 

अजयमेरु गाउँपालिकासहित बैतडी जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीय बासिन्दा लाभान्वित हुने गरी सडक निर्माण सुरु गरिएको थियो ।