हावाहुरीबाट घाइते भएकाको उपचार खर्च बेदकोट नगरपालिकाले व्यहोर्ने

हावाहुरीबाट घाइते भएकाको उपचार खर्च बेदकोट नगरपालिकाले व्यहोर्ने

कञ्चनपुर ः कञ्चनपुरको बेदकोट नगरपालिकाले हावाहुरीमा परी घाईते भएकाहरूलाई उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालीकाको बैठकले हावाहुरीमा परि सक्त घाईते भएका लाई जनही रु १० हजारका दरले र अन्य घाइतेलाई जनही पाँच हजारका दरले उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको हो। 

हावाहुरीमा परी सक्त घाईते भएका नगरपालिका १० नयाँ गाउँका एकै परिवारका राम सिंह रावल, गोरेदेवी रावल, विरमा देवी रावल, सरस्वती रावल र देवी बुढा रहेका छन। चारै जनाको कैलालीको धनगढी स्थीत सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

हावाहुरीले घर भत्काउदा गत बिहीवार राती चारै जना घाइते भएका थिए।  अन्य आठ जना सामान्य घाइतेलाई जनही पाँच हजारका दरले उपचारका लागि रकम उपलव्ध गराइने नगर प्रमुख असोककुमार चन्दले बताए।हावाहुरीका कारण नगरपालिका क्षेत्रका १२ जना घाइते भएका थिए। 

नगरपालिकाको दैवीप्रकोप उद्धार राहत समितिले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार हावाहुरीले नगरपालिका क्षेत्रका ६० घर पूर्ण रुपमा भत्काएको र ५७० घरका छना उडाएर क्षति पुर्‍याएको छ। समितिले अझै विवरण संकलनको कार्यलाई निरन्तरता दिएको छ। 

तथ्यांक संकलन समितिमा नेपाल रेडक्रस सोसाइटीबाट तीनजना, सुरक्षाकर्मीबाट दुई जना, उद्योग बाणिज्य संघबाट एक जना र नगरपालिकाबाट एक जना गरी सात जना रहेका छन।