उपचार नपाउँदा नवजात शिशुको मृत्यु

उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अछाम : समयमा उपचार नपाउँदा अछाममा एक नवजात शिशुको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका ७ सेराका नन्दकला र प्रेम प्रसाद भाटको नवजात शिशुको वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकी ढाँकुमा ज्यान गएको हो । 

सुत्केरी ब्यथा लागेकी ३२ वर्षीया नन्दकलालाई आइतबार बिहान ९ बजे स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा पु¥याइएको थियो । व्यथा लागेको लामो समयसम्म पनि सुत्केरी गराउने स्वास्थ्यकर्मी नआउँदा नन्दकलाले मृत शिशुलाई जन्म दिएकी थिइन ।

२४ सै घण्टा प्रसुती सेवा उपलब्ध सूचिकृत संस्थामा २ जना अनमी रहेका थिए । एक जना तालिमको लागि कमलबजार गएको र अर्की अनमी प्रसुती गृह नजिकैको घरमा रहेपनि आउन नमानेपछि नन्दकलाले उपचार पाउन नसकेको श्रीमान प्रेम प्रसाद भाटले बताए । 

‘घरमा रहेकी अनमी लक्ष्मी विष्टलाई फोन गरी आईदिन अनुरोध गरेका थियौँ,’ उनले भने,‘अनमीले आफु खाना पकाउन लागेको र बर्थिङ सेन्टरमा आउन नसक्ने बताइन्, मेरो छोरोको ज्यान गयो र श्रीमतीको स्वास्थ्यमा थप जटिलता आयो ।’ भाट दम्पतीका यसअघि २ छोरी रहेका छन् । 

हाल स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहत रहेकाले कर्मचारी व्यवस्थापनको काम पनि स्थानीय तहले नै गर्ने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले बताए । कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले कर्मचारीको व्यवस्था भएको तर बिरामीलाई स्वास्थ्य संस्था ढिलो पुर्‍याएको कारण बच्चाको ज्यान गएको दाबी गरे ।