बन्धक बनाई १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

बन्धक बनाई १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

डेरामा पुर्‍याइदिने आश्वासनमा एक समूहले बालिकालाई गाडीमा राखी रिसोर्टमा पुर्‍याई बन्धक बनाएर बलात्कार गरेका छन् । घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटेका छन् ।

गत २१ मंसिरमा चुनिखेलस्थित होटेल फरेस्ट भ्यु रिसोर्टमा १६ वर्षीया बालिकामाथि बलात्कार भएको हो । प्रहरीले घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका भीमसेनगोला बस्ने सुजन श्रेष्ठ, मूलपानीका रोमन श्रेष्ठ र रोहन श्रेष्ठ तथा चुनिखेलका राजेश श्रेष्ठलाई पक्राउ गरी शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले सुजन र रोहनलाई थुनामा पठाएको छ । रोमन र राजेश धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले दुईजनालाई थुनामा पठाई दुईजनालाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

ती बालिका साथीको जन्मदिन मनाउन सोह्रखुट्टेमा गएर फर्किने क्रममा बलात्कारमा परेकी हुन् । फर्किने क्रममा सोह्रखुट्टे चोकमा पठाओ कुरिरहेका वेला उनीहरूले डेरामा पुर्‍याइदिने भन्दै गाडीमा राखेका थिए ।

सुरुमा बौद्ध पीपलबोटमा पुगेर उनी झरेकी थिइन् । तर, दिदीको फोन नउठेपछि सडकमा अलपत्र परेको अवस्थामा उनीहरू फेरि आई जबर्जस्ती गाडीमा राखेर रिसोर्टमा पुर्‍याएको पीडितको भनाइ छ ।